तिमी मलाई आफ्नो मान या नमान
म तिम्रो मायाँमा चुर्लुम्म डुबिसकेँ
तिमी मलाई आफ्नो भन या नभन
म आफैँ तिम्रो समीपमा डुबिसकेँ
मलाई जीवित छौ भन या नभन
म आफैँलाई मृतात्मा मानिसकेँ ।

मलाई जीवनमा छौ तिमी भनी नभन
म धेरै भैसक्यो मृतात्मामा हिँडिसकेँ
तिमी मलाई मृतात्मा मान या नमान
म फगत शून्यताको यात्रीजस्तो भइसकेँ
मलाई जीवित छौ हो भनी फेरि नभन
म आफैँलाई मृतात्मा मानिसकेँ ।

दिनेश घिमिरे

कहाँ हो जीवन? कस्तो हो अस्तित्व?
जीवन यात्रा मात्रको अस्तित्व के हो?
मन के हो? भय के हो? आत्मा के हो?
आफैँ अनि विरुद्ध आफ्नै गन्तव्य शून्य
तथापि मायाँ, मोह, लोभ अनि आशा
जीवन दर्पण हो अनि फेरि अन्त कहाँ?
सुरु मात्रैमा अनमेल अनि अभयजस्तो
कता-कता शून्य नै शून्य अत्यन्त महाशून्य ।

कहीँ कतै ममा जीवन दर्पण देख्यौ भने
त्यो त केवल भ्रम आत्मा हो भनी भन्छु
ऊ मऱ्यो, उनी मरिन् जडत्व अस्तित्व हो
किन गिडगिडाउँछौ किन चिडचिडाउँछौ
आत्मा हुँ म र आत्मा भाव पाउँछौ भने
मलाई जिउँदो छौ भनेर फेरि पनि नभन
मैले आफैँलाई मृतात्मा मानिसकेँ ।

मलाई मार या नमार तिम्रो विवेक
मलाई देख या नदेख तिम्रो नजर
व्याख्या अनि अनुभवमा तिमी र म
धरै आयाम अनि विचारहरू मरिसके
क्रमागत यात्रासँगै सभ्यता निरन्तर छ
तिमी पनि मेरै आत्मा हौ र ऊ पनि हो
मलाई अस्तित्वमा नजोड केवल जडत्व
म आफू आफैँलाई मृतात्मा मानिसकेँ ।