सुमी पोखरेल

मनको झरी
बर्सँदा आँखाबाट
फाट्ने होइन दुःखको बादल ।

बाक्लिएनन् पातहरू रूखका
मुर्झाए कोपिला बोटमै
फोस्रएिको सुन्तलाझैँ
रस के भरिन्छ दिलका केस्राहरूमा
बेमौसमी बर्सात यो प्रीतिको ।

पर्खाइका लामा–लामा
एकदम अत्यासलाग्दो जिन्दगीमा
सागर भेटुँला झैँ उर्लन्छ मनको नदी
बगाउँछ माटो
माटोसँगै बगाउँछ
कडा चट्टानजस्तो भरोसा ।

व्याकुल खहरेझैँ तिर्खाएर
थापेर रुझ्दा वर्षात्का बुँदहरु
लछार्दै ढिस्का दुःख र पीडाका
उर्लेर उठ्छन् खुसीका लहर
र क्षणभरमै फुट्छन् फोकाझैँ बलेसीका

मनको झरी
यत्ति धेरै बर्सँदा पनि आँखाबाट
फुटेन मूल असलमा
खहरे जिन्दगी भो ।