धन कमाउन भनि छोरो मलेसिया गएको पाँच वर्ष भयो ।
यो दसैँमा आउने खबरले आमाको मन कति हर्षित भयो ।।
घरका लागि केही सामान पनि किन्दै छु भनि खबर आयो ।
महिना दिनपछि आमाको मुटु चिर्न बाकसमा सुतेर आयो ।।
भदौमा थुप्रै सामान लिएर बाबु फर्केर आउने खबर आयो ।
एक महिनापछि त पैँतीसवटा बाकस लिएर विमान आयो ।।
मसानघाटमा सियाल कराएझैँ मुटु छेड्ने क्रन्दन थियो ।
बाकस खोली हेर्दा चिरनिद्रामा सुतेको बाबुको लास थियो ।।
बाबु आउला ठूलेको तल्लो गह्रो खाउँला भन्ने रहर थियो ।
सासु बुहारीको दसैँमा पोखरा घुम्ने जाने साह्रै रहर थियो ।।
राम्रा-राम्रा सारी, चुरा पोते र गरगहना किन्ने कुरा थियो ।
सिउँदोको सिन्दुर मेट्न मेरो मान्छे बाकसमा सुतेर आयो ।।
बाबु आउला घरको छानो ढुङ्गाले छाउँला भनि रहर थियो ।
म आएर सबै गरौँला आमा ! चिन्ता नलिनू त भन्दै थियो ।।
भिरबाट खसेको ढुङ्गाले मेरो खप्पर नै फुटालेजस्तो भयो ।
जब अबिरले सिँगारिएर मेरो बाबु बाकसमा सुतेर आयो ।।
मेरो औँला समाती हिँड्ने बाबुले किन आज रुवायो यसरी ।
हे दैव ! मेरो मुटुको टुक्लाराई बोकी अब घर जाऊँ कसरी ।।
आमालाई भेट्न आउँदै छु भनि मेरो मुटु छेड्न पो आएछ ।
म मर्नुअगाडि नै मेरो विलाप हेर्न बाकसमा सुतेर आएछ ।।
धन कमाउने लोभले किन जान्छन् सबै विदेशतिर यसरी ।
के पैसा फल्ने बोट छ त्यहाँ, जसमा पैसा फल्छ बेस्सरी ।।
कुटोकोदालो गरी यहीँ दुःख गरे त यो दशा किन हुन्थ्यो ?
आटो पिठो खाएर नेपालमै दुःख गरे बाँच्न त सकिन्थ्यो।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।