केही दैनिकपत्रिका र
चर्चित म्यागजिनमात्र छन् झोलामा
छैनन् पहिले पहिले बोक्ने गरेका
पढेर कहिल्यै नसकिएका
द्वन्द्वात्मक भौतिकवादको
लेनिनले गरेका व्याख्याका पुस्तक ।

घण्टौँ पढाउन सक्छन् कामरेड
पार्टी इतिहास र पार्टी अनुशासन
अन्तःसङ्घर्ष रजनवादी केन्द्रीयता
रदिन सक्छन् लामा-लामा प्रवचन
कसरी उठान गरे आन्दोलनहरू भन्ने
कसरी नेतृत्व गरे प्रतिरोधको भन्ने
जसरी सुनाउने गर्छन् गौरवसाथ
कुनै भग्नावशेष “दरबार”को आँगनमा बसेर
आआफ्ना पूर्खाको इतिहास
भूतपूर्व राजारजौटाका सन्तानहरू ।

अमर शाह

पावर नमिलेको चस्मा लगाएर
संसार हेर्ने कुनै वृद्धले जस्तो
हेरेर हो कि देश र दुनियाँ जीवनभर
वा हिँडेर हो गन्तव्यमा कहिल्यै नपुग्ने बाटो
धमिलो र अस्पष्ट छ पुग्नुपर्ने ठाउँ अझै ।
बीचजङ्गलमा बाटो हराएजस्तो
अलमल-अलमलमा देखिन्छन् कामरेड
जीवनको उत्तरार्द्ध अहिले
लगाइराख्ने कि फेर्ने अब
टाउकामा लगाएको खुइलिएको रातो टोपी?

पटक-पटक
आफ्नै सपनाहरूको मलामी जानुपर्दा
साँच्चै के बोक्छन् होला
कामरेड झोलामा हिजोआज
भगवद्गीता वा मार्क्सको पुँजी?
र कस्तो गर्छन् होला अनुभव
आफ्नै विगतको समीक्षा गर्दा कामरेड
गौरवबोध वा अपराधबोध ?