म सधैँ भन्ने गर्छु
मलाई मायाँ गर
मात्र मलाई मायाँ गर
मलाई मायाँ गर

सुशील घिमिरे त्रैलोक्य

म तिम्रो हो
तिम्रो आधा शरीर
अर्धाङ्गिनी
श्रीमती
जीवनसाथी
मलाई मायाँ गर
मलाई नगरे कसलाई गर्छौ ?
कि छ कोही !
छ भने भन है
म तिमीलाई छोडिदिन्छु
अहँ छोड्दिनँ … बरु मरिदिन्छु
छैन भन्छौ ?
ढाँट्छौ ?
छैन भने किन मायाँ गर्दिनौ त…..
मलाई मायाँ गर
मलाई नगरे कसलाई गर्छौ ?
म कराउँछु चिच्याउँछु कोप्रिन्छु
तर ऊ चुपचाप बस्छ
केही फरक पर्दैन
केही मतलबै छैन
आज खाना तिमी पकाऊ
नानीलाई तिमी तयार गर
घर सबै तिमी सफा राख
सबै काम गर
आज म केही गर्नेवाला छैन
ऊ लुरुलुरु सजिलै
सबै गर्छ
कस्तो मान्छे हो
माया त के
झगडा पनि गर्न आउँदैन
जति भने पनि ढुङ्गा भएर बसिदिन्छ
कहिलेकाहीँ आइसक्रिम खुवाउन लग
पार्क डुलाउन लग
राम्रो सिनिमा हेर्न लग
मम खुवाउन रेस्टुरेन्ट लग
सपिङ गर्न लग
भनेपछि लान्छु रे
मैले सम्झाउनुपर्ने ?
भो जान्नँ … मरिगए जान्नँ …
मलाई मायाँ गर
मात्र मलाई मायाँ गर
मलाई नगरे कसलाई गर्छौ ?
कि छ कोही ?
न कहिल्यै जन्मदिनमा उपहार दिएको छ
न भ्यालेन्टाइन रातो गुलाफ
न कहिल्यै खाँदा मिठो भनेको छ
नुन चर्को हुँदा पनि मैले थाहा पाउनुपर्ने
जस्तो पनि खाइदिने
मैलो, खुजमुज्जेको लुगा पनि लगाइदिने
राम्रो नराम्रो केही मतलब छैन
कस्तो मान्छे हो
म त्यसै भन्छु ?
केही मतलब छैन
मेरो त मतलब छैन
आफ्नै त के गरोस्
उसलाई नभनी कतै गयो भने
खोजी निन्दा केही छैन
कामैले गई होला कतै रे
माइतीमा जति दिन बसे पनि
बोलाउनु छैन
अझ त्यो पनि तिम्रो घर हो रे पो !
मन लागुन्जेल बस रे !
छोड्न मन छ हो तिम्रो ?
मलाई था छ
मलाई मायाँ गर्दिनौ तिमी
म त्यसै भन्छु ?
केही मतलब छैन
मलाई मायाँ गर
मलाई नगरे कसलाई गर्छौ ?
कि छ कोही ?
छ भने भन है !
म तिमीलाई छोडिदिन्छु
अहँ छोड्दिनँ … बरु म मरिदिन्छु
अब त म हारिसकेँ
मायाँ माग्दा माग्दा
कति कर गर्नु
मागी-मागी पनि मायाँ हुन्छ ?
अत्ति भो
लास्टै भो
अब सहन्नँ
तिमीलाई के था
म को हो
सानो सम्झेको मलाई ?
मलाई हेप्ने ?
पख…..पख…..
अर्को जुनीमा
दुई जुनी, तीन जुनी… सकिनँ भने
सात जुनीसम्ममा भए पनि
मलाई के सम्झको छ ?
कसम म तिमीसँग
हरेक जुनीमा
तिम्रो श्रीमती भएर
कसम म
बदला लिन्छु
कसम म
बदला लिन्छु ।