छिमेकीले घाँस काट्यो
मैले घाँसै त हो भनेँ
छिमेकीले कान्लो ताछ्यो
मैले माटै त हो भनेँ
छिमेकीले रूख काट्यो लग्यो
मैले पाजी दाउरै त हो भनेँ
अब त छिमेकीले
त्यो बारी मेरो हो भन्छ
त्यो सल्लाघारी मेरो हो भन्छ
रूख, रूखमा बस्ने चरा
चराको गीत
रुखले नकाल्ने सुसेली
सब मेरा हुन् भन्छ
भन्देऊ न हो अमरसिंह
भोक ठूलो कि स्वतन्त्रता?
पराधीन नभए पनि
स्वाधीन हुन नसकेपछि
स्वचालित हुन नसकेपछि
भोलि यो बाटो मेरो हो भन्ला
तैँले खाको आटो मेरो हो भन्ला
तँ बसेको बास, तैँले फेरेको श्वास मेरो हो भन्ला
तैँले छोप्ने लाज, तेरो शीरको ताज मेरो हो भन्ला
तेरो पेन्सन पट्टा मेरो हो भन्ला
तँ त जिउदो पुत्ला होस्
तँ बसेको सत्ता मेरो हो भन्ला
भन्देऊ न हो भीमसेन
सत्ता ठूलो कि देश?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
