हप्ताभरिको उल्लासपूर्ण पर्खाइ,
रमणीय त्यो ‘गुड फ्राईडे’ आउँछ भन्दै,
एउटा मीठो रङ्गीन सपनामा डुबेर,
मनमा लाखौं भावनाहरु खेलाइरहन्थेँ,
तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।१।।
अव्यक्त रहेका कैयौं भावनाहरु,
त्यसैभित्र हुन्थ्यो छट्पटाहट र उत्सुकता,
गुम्सिएका हुन्थे मनमा सयौं प्रश्नहरु,
तैपनि शुक्रबारे बिहानीमा फुरुङ्ग हुन्थे,
तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।२।।
जुनकिरी झैं चम्किदिन्थ्यो मुहार,
शुक्रबारको त्यो सूर्योदयको लालीमासँगै,
आशाको किरणको अनवरत श्रृंखला,
अनि कता कता म निस्फिक्री भइदिन्थे,
तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।३।।
जीवन आज मूकदर्शक भएछ,
पीडाहरु मनभित्रै कुण्ठित भइसकेछन्,
अतीतको त्यो मिठासले घोचिरहँदा,
अन्यौलतामा निराश मन छट्पटाइरहन्छ,
तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।४।।
अधुरा सपनाहरुले कचोटिरहँदा,
हरपल कठिन सजाय सरह भएकोछ,
सपनाहरुको अनायासै मृत्यु हुँदा,
केही प्रश्नले मायालाई नै लक्ष्य गरिरहन्छन्,
तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।५।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

