कविता : फिक्स्ड म्याचको खेलाडी
कहिलेकाहीँ आफ्नै अनुहार नचिनेर
आफ्नै परिचय लिन पुग्छु
तँ को होस् ?
किन आइस् ?
के काम छ तेरो यहाँ ?
कुन ऐनामा उभ्याएर हेरौँ आफैँलाई
अवतल कि उत्तल
कुनै ऐनाले उतार्न सकेनन् आफ्नो अनुहार
कुन सकली
कुन नकली
कहिलेकाहीँ
कविता लेख्दालेख्दै
कवि होइन, आफैँ कविता भइदिन्छु
अनि त्यो कविता भएको कवि
अलपत्र भएर दोबाटोमा
ठिङ्ग उभिदिन्छ
आफ्नै कवितालाई बुझ्न नसकेर ।
यस्तो पनि लाग्छ
म यसै अल्झिएर बसिरहेछु
कुनै फिक्स्ड मैचको
निर्वोध खेलाडी झैँ
जो खेल जिताउन तन-मन लगाएर पनि आउट हुन्छ
अनि परिणाम पूर्वनिर्धारित भएको खेलमा
निरर्थक पसिना चुहाइरहेको छ ।
अनि फेरि !
नहार्ने अर्को खेलको लागि
कम्मरले मसँग एउटा पटुका माग्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला