कविता : पैतालामा अल्झिएका सपना

कुञ्जदेवी उपाध्याय (असम)

पाइलो रोकिन्छ

भावना ठोकिन्छ

पैतालामा कुल्चिएका सपना सजाउँन्

ऊ फेरि उभिने प्रयास गर्छिन् ।

 

आँसु पिउने आदत

जन्मसिद्ध पाएको उपहार मान्दै

नित्यकर्म सुरू हुन्छ नारीको

हार मान्दिनन् ।

 

सपना ठोकिएर रोकिएको पाइलो

फेरि अघि बड्दछ

आफ्नै धुनमा रमाउन ।

 

अग्लो, होचो, गहिरो र समथल

चारैतर्फ आँखा डुलाउँदै

काँढाले भरिएको त्यो पहाडी सौन्दर्य हेरेर

सान्त्वना लिन्छिन् ।

 

दुईमुखे जीव रहेछ मानिस

न कोही कसैको आफ्नो हुन्छ

न साहारा !

साँइली बजैको सपना रमाउछ प्रतिष्ठामा

कान्छी बजै बोक्सी कहलाउँछिन् गरिबीमा

यस्तो रिवाजमा रङ्गिएको छ संसार ।

 

संस्कारको नारा लगाउने

आफूमै संस्कार ल्याउनमा व्यर्थ छ

घरको देउता हेला गर्ने

मन्दिरमा बिन्ती चढाउँदछ

यसरी नै अल्झिएका छन्

यसरी नै अल्मलिएका छन्

टोलिएर ओइलाउन लागेका छन्

धेरै सपना पैतालामा

यात्राभन्दा पहिलै

धेरै नारीहरूका ।