नदीका असंख्य लहरहरु
वारि-पारि दुई किनाराबीच
आफ्नाे मर्यादा नाग्न खाेज्दैछ।
म टाढैबाट हेरिरहेँ….
के फरक ती लहर र ममा?
म पनि त आफ्ना किनाराबीच
मर्यादा नाग्न खाेज्दैछु
आफ्नाे अस्तित्व मेट्नलाई
आफ्नाे अस्तित्व मेट्नलाई॥१।।

वृक्षका असंख्या पातहरु
वृक्षकाे साथ छुटेनन् कहिले
हुरी-बतासकाे ऋतुमा पनि
म टाढैबाट हेरिरहेँ…
हावासित हाँसिरहेछ
झरीसित नाचिरहेछ
त्याे पात भन्दा हल्का त भइनँ म
किन आफ्नै वृक्षसित छुट्दैछु म?
आफ्नाे अस्तित्व मेट्नलाई
आफ्नाे अस्तित्व मेट्नलाई।।२।।

एउटै वृक्षमा असङ्ख्या मौरीका घारहरु
एउटा घारको मौरी अर्को घारमा कहिले सरेन
यो तेरो र यो मेरो भन्दै कहिले लडेन
म मुन्टो ठाडो पारेर हेरिरहेँ…
कसैको सानो घर त कसैको ठूलो घर
सबैले मेहनत मजदूरी गरेका छन्
नराम्रोलाई छाडेर राम्रो रस सँगालेका छन्
त्यो मौरी भन्दा नीच त भइनँ म
किन राम्राे छाडेर नराम्राे सँगाल्दैछु
आफ्नाे अस्तित्व मेट्नलाई
आफ्नाे अस्तित्व मेट्नलाई॥३।।

वृक्षमुनि असङ्ख्या कमिलाका ताँतीहरु
श्रम र मेहनत गर्न छाडेनन् कहिले
आफ्नाले आफ्नालाई मारेनन् कहिले
म तलतिर निहारेर हेरिरहेँ…
काेही पूर्व जाँदैछ त काेही पश्चिम
कोही रित्ताे छ त काेही छ भरि
कसैले कसैलाई रोक्दैनन्
कसैले कसैलाई भुक्दैनन्
त्याे कमिला भन्दा नीच त भइनँ म
किन अरुकाे बाटाे छेक्दैछु अरुकाे देखी भुक्दैछु
आफ्नाे अस्तित्व मेट्नलाई
आफ्नाे अस्तित्व मेट्नुलाई।।४।।

मिचीना, म्यान्मा