नश्लवादी स्वेतआतङ्कको
बुटले कुल्चेर
जब जर्जफ्लोयडहरू मारिन्छन्
जब दक्षिणपन्थी धर्मभीरु अतिवादीहरू
पुँजीवादसँग साटगाँठ गर्दै
मैमत्त भएर
आफ्ना विषालु नङ्ग्राले
गरिब, सीमान्तजनलाई चिथोर्छन्
एक प्रकारको पराकम्पले
मेरो मन–मस्तिष्क हल्लिन्छ
म आन्दोलित हुन्छु ।
भोकको कहरले
तड्पिएर मर्ने
सूर्यबहादुर तामाङ
जोद्धी गोडिया

मलर सदाहरू
तिम्रा क्वारेन्टाइनरूपी मृत्युशालामा
उपचार नपाएर
छटपटाई प्राणत्याग गर्ने
राजु सदाहरू कति होलान् ?
अनि कति होलान्
यातनागृह बनेका
तिम्रा हिरासतका कर्तुतहरू !
उफ् !
अहिलेसम्म
प्रेमको बदला मृत्यु दिने
तिम्रो जात अहङ्कारले
कैयन् अजित अनि नवराजहरूको हत्या गरेको छ
हुर्किन नपाउँदै
उन्मत्त हिंस्रक यौन–पिपासुहरूले
बलात्कार गरेर झुन्ड्याइएका
अङ्गीराहरू कति होलान् ?
यस्तै-यस्तै
तिम्रा कथित समाजवादी खोलभित्रका
हत्या शृङ्खलाहरूले यति बेला
मेरो शरीरका नसाहरू तातेका छन्
मनको उद्वेगले
मथिङ्गल घुमेको छ
त्यसैले,
मेरा प्रियजनहरूको हत्यामा
म शोक–धुनमात्रै बजाउने छैन
म निदाउने पनि छैन
बरु,
यो शरीरमा एक मुठ्ठी सास रहुन्जेल
उनीहरूको न्यायका निम्ति
तिम्रो जात–सत्ताविरुद्ध
र अझै पनि
यो गोलभूगोलमा
मान्छे हुन नसकेका
लाखौँ–करोडौँ (अ)मान्छेहरूका निम्ति
म आन्दोलनको मैदानमा छु
सङ्घर्षको अग्रमोर्चामा छु
किनकि
तिम्रो हजारौँ वर्षको उत्पीडनले
मलाई प्रतिरोधी बनाएको छ ।

त्यसैले
हे मनु बाजे !
तिमीले रोपेको वर्ण–विद्वेष
र त्यसको जगमा ठडिएको
वर्गभेदको पर्खालले
जबसम्म
मेरो जिजीविषालाई
हरपल लखेट्न छाड्ने छैन
मेरो सपनामा
जबसम्म
अरिङ्गालहरू
घात लगाउन आइरहने छन्
तबसम्म
मलाई संयमित बन्न उपदेश दिने
ओ मनुका लठैतहरू हो !
यो धर्ती
यो आकाशमा
मेरो बराबरी हक खोज्न
मेरा पुर्खामाथिको अत्याचारको बदला लिन
म आगासँग जुध्न तयार छु
तिम्रो जात–सर्वोच्चतालाई
अब सहिन्न कदापि
दलनको जन्जिर चुँडालिन्छ
किनकि,
म मान्छे हुन चाहन्छु
छुवाछुतमुक्त मानवबस्ती चाहन्छु
अविभेदी पृथ्वी चाहन्छु
त्यसैले
होसियार होऊ ।
नश्लीय एवम् जात–सत्ताका ठेकेदाहरू हो !
तिम्रा झूटका पुलिन्दा खुल्दै छन्
मैले चाहेको पृथ्वीका निम्ति
मजस्ता हजारौँहजार आन्दोलित मनहरू
तिम्रो जात–विरासतविरुद्ध
लामबद्ध भइसकेका छन् ।