शोभकान्त गौडेल

परार सालको बाढीले

दार्चुला नदी किनारका धेरै घरहरू बगायो रे
महाकाली किनारको भुनरकोट
पहिरोभित्रै कता हो कता हरायो रे
त्यस्तै छ हाल होलियाको विप्रहवा र हर्दियाको
हर्यौना, गौर, खडौना र कटकुइयाको
हजारिया, छतौना, वरहथवा, खैरवा र करकठनाको
थुनिएको छ बाँध बनाइ
रापती, वाणगङ्गा र महली सागर
ठूलो खतरामा छन्
धरमपुर, लक्ष्मीपुर र समनपुर
बखरी रजवाडा र भगवन्‌पुर
कतै फुसको घरको छानामा
कतै ठिङ्ग उभिएको रूखको हाँगामा
झुन्डिएर विषालु सर्प, बिच्छी र बाढीको जगजगी सँगै
कसरी बिताउँदा हुन् धर्तीपुत्रहरूले
साउन-भदौका डरलाग्दा काला रातहरू
सीमापारी दशगजासँगै जोडेर बनाइएका
विशाल कङ्क्रिटका बाँधहरू

भयङ्कर सन्त्रासमा छ सिमानामा देश ।

टुलुटुलु हेरिरहेछन् फगत हेरिरहेछन्
सीमान्त जिल्लाका बिचरा निरीह सिडियो साहेबहरू
सिंहदरबारले देख्दैन अहँ कदापि देख्दैन
देखे पनि बोल्दैन
बोल्नै सक्दैन
सिसिटिभी र एसी जडित बन्द कोठाभित्र
गम्म छ सिंहदरबार।
गजधम्म छ सिंहदरबार।
मालेपाटन-५, पोखरा