टंक प

हाम्रो आफ्नै लय छ सुरिलो गुन्जिने साधनाको
आफ्नै भाका मधुर रसिलो लाग्छ यै भावनाको
बोली हाम्रा समय गतिमा मन्त्रझैँ बन्नुपर्छ
जागा बन्ने अमृतमय यो कल्पना गर्नुपर्छ ।।१।।

हाम्रा पाखा मलजल मिली सिर्जना फुल्नुपर्छ
हाम्रा गाथा अब प्रगतिका व्यञ्जना बन्नुपर्छ
हामी आफैँ समरथ हुने योजना थाल्नुपर्छ
तारो ताकी अटुट श्रमले पाखुरी गाल्नुपर्छ ।।२।।

हाम्रा बस्ती किन मलिन छन् प्रश्न यो सोध्नुपर्छ
आशा बाली सकल मनका दासता तोड्नुपर्छ
बामे सर्ने मृदुल सपना व्यर्थमा मर्न हुन्न
दाबा गर्ने तरुण सपना जालमा पर्न हुन्न ।।३।।

जिद्दी गर्दै अझ पनि यहाँ लड्दछन् व्यर्थ कोही
खाना नाना सकस छ यहाँ मर्दछन् व्यर्थ कोही
यस्तो हाम्रो विपुल धरणी बाँझियो प्रश्न यै छ
स्वार्थी बन्दा विमति चुलिई गाँजियो प्रश्न यै छ ।।४।।

भोका नाङ्गा गरिब जनता खिन्न छन् देश रोयो
आफ्नै मान्छे असमझ भई भिन्न छन् देश रोयो
केही होलान् गति प्रगतिका अर्थमा देश रोयो
छैनन् हाम्रा सहमति कुनै व्यर्थमा देश रोयो ।।५।।

आयौँ हामी सब किसिमका विघ्नलाई चिरेर
गायौँ हामी उदयतिरका दिव्य गाना दिएर
ऊर्जा घट्छन् दिनदिन यहाँ भित्र को बन्छ हाबी ?
यस्तो हाम्रो नियति हुन गो देशमा छैन चाबी ।।६।।

टुट्नेफुट्ने छलकपटको घातको राजनीति
ईर्ष्या त्यागी भन त कहिले हुन्छ यो त्यागनीति ?
हामी झुक्दा अटल छविको झुक्छ हाम्रो हिमानी
हामी चुक्दा क्षणभर उसै डुब्छ हाम्रो कमानी ।।७।।

छन्द- मन्दाक्रान्ता