आजका तिनीहरू
हिजो पुराना चप्पल थिए
पट्याक पट्याक पड्किरहन्थे
पड्किनुपरेकामा
दु:ख थियो, वेदना थियो अनि छटपटी पनि
आज ती चप्पलहरूमध्ये केही
महँगा जुत्ता बनिसकेका छन्
कार चढ्छन्, पजेरो चढ्छन् अनि प्राडो पनि ।
चीत्कार, छटपटी, चिडचिडाहट र एक्लोपन
यही चप्पलहरूको कहानी हो हिजो पनि र आज पनि
जुत्ता बन्ने चप्पलको कुरा नगरौँ
पजेरो र प्राडो बन्नेको चर्चा छाडौँ ।

जुन चप्पल गाउँमा थिए

कमल अर्याल

तीमध्ये आज पनि धेरै गाउँमै छन्
घाँसदाउरा, मेलापात र पानीपँधेरामा
हिँडिरहन्थे र हिँडिरहन्छन् अनवरत
त्यही उकाली ओराली
 र भन्ज्याङरूका
तिखा पत्थर र काँडाहरू कुल्चेर
चिरिएका पैतालाहरूसँग
कुदिरहन्थे र कुदिरहन्छन् निरन्तर
चप्पलहरूको
थाप्लामा नाम्लाका डामहरू पर्ने
अनि
शरीरमा पसिनाका धारा चुहिने क्रम जारी छ ।
चप्पलको अर्को कहानी पनि छ –
केही चप्पल महँगा जुत्ता बनेको देखेर
शरीर कुच्चिएका
आफ्ना रूपरङ्ग र बनावट
हराइसकेका कैयौँ थान
चप्पलका पीडित आत्माहरू
माइतीघर हुँदै सिंहदरबारका
विशाल गेटहरूका छेउछाउ
मलिन अनुहार लगाएर
जुत्ता बनेका, पजेरो बनेका र प्राडो बनेका
चप्पलहरूको समर्थनमा जिन्दावाद
                   –  विरोधमा मुर्दावाद
रामभक्त चप्पलहरू
आशाको दियो सल्काउँदै मनमा
आफ्ना मालिक खोजिरहेछन् अगाडि बढ्न
निरीह अनि आशावादोन्मुख
चप्पललाई तिमीले भनेजस्तै
‘लम्पट कार्यकर्ता’ कसरी भनूँ र खै ?
जुत्ता, पजेरो र प्राडो बनेका मालिकका हातबाट
आफ्ना चुँडिएका तुनाहरू
फेरिने आश बोकेर
हिँडेका चप्पलहरू
चुँडिएका तुनाका टाउकाहरू
गाँसिएर पुनर्जन्म हुन्छ कि को आशमा
यी सडकका खाल्डाखुल्डी
दुर्गन्धित फोहोर पानी
छलेर खाली खुट्टा
बिचरा
कसरी हिँडिरहेका छन् ।
माइतीघर हुँदै सिंहदरबारका
विशाल गेटहरूका छेउछाउ
आफ्ना मलिक खोजिरहेछन्
छिटो उन्नति चाहने
कैयौँ थान
चप्पलका पीडित आत्माहरू ।
 के थाहा दु:खी आत्माहरूलाई
आजकल तिनका मालिकहरू
ढिँडो खाँदैनन् चप्पल लाउँदैनन्
र चप्पल पनि चिन्दैनन्
महँगा छालाका
अङ्ग्रेजी सुजहरू
सिंहदरबारका विशाल गेट हुँदै
माइतीघर आसपासबाट
ठुलठुला आवाजमा
साइरन बजाउँदै
चिल्ला टल्कने गाडी चढेर
संसद्भवन पुग्छन्
छली आत्माहरू
देश बेच्छन् अनि देश खोज्छन् ।
चप्पलहरूले आफूलाई चिन्न सके भने
जुत्ता, पजेरो र प्राडो बनेका भूतपूर्व चप्पलहरू
फेरि चप्पल बन्न पुग्नेछन् – घुमिफिरी रुम्जाटारैमा ।
                                       –   चितवन