केशव गजुरेल

बाले आफ्नो भागको लालपुर्जा
दुईभाग लगाएर
दुवै छोराहरूलाई आधा-आधा बाँडिदिएपछि
दुई दाजुभाइ
घरको मूलढोकाबाट निस्किएर
दुईवटा भिन्न-भिन्न बाटो हुँदै
आ-आफ्नो गन्तव्यमा हिँडे।
फेरि कहिल्यै फर्किएनन्, छिरेनन्
घरको मूल ढोकाभित्र।
कहिल्यै ननिदाउने आफ्ना दुईवटा आँखा लगेर
आमाले दुईवटा भिन्न-भिन्न बाटामा
एकएकवटा राखिदिइन्
दायाँ आँखा — जेठो गएको/आउने बाटामा
बायाँ आँखा — कान्छो गएको/आउने बाटामा
र हेरिरहिन् नदेखिए पनि
क्षितिजपारिको अदृश्य — दृश्य
जस्तो — सामन्ती पेटभित्र साम्राज्य जमाएको भोकलाई परास्त गर्न नसके पनि
धान फल्ने खेतको आली खनिरहन्थे बा ।
बा भन्थे
चराका बचेरा र मान्छेका बच्चा उस्तै रहेछन्
छहारीमा जन्मिन्छन्,
हुर्किन्छन्,
आँखा पलाउँछ,
पखेटा पलाउँछ,
अनि उडेर जान्छन्
बादलका भुवा नाघेर — क्षितिजपारि।
चौतारामा सुस्ताउने बटुवाहरू भन्थे
घरको पिँडीमा आशावादी बनेर
टुक्रुक्क बसिरहेका हुन्थे बाआमा !
छहारीमा हुर्किएर
चरा बनेर उडेका बचेराहरू
फेरि फर्किएर आउँछन् कि !?
रित्ता हाँगाहरूमा चिरबिर – चिरबिर गर्दै
फेरि खेल्छन् कि!?
भन्ने आशामा उभिरहेको
घरछेउको बूढो रूखजस्तै।
एकरात
घरको मूलढोकाबाट
समयको अप्रत्याशित तर अकाट्य बाढी
विनापूर्वानुमान भित्र पसेर
मूलढोकाले खुट्टा टेकेको
दुई टुक्रा जिन्दगीको मैदानलाई बगाएर लगेपछि
दुई दाजुभाइ, आमाले बिछ्याएका
एक-एकवटा आँखालाई कुल्चिँदै
आ-आफ्नो बाटो हुँदै
घरको मूलढोकाअगाडि आइपुगे।
बा दुबिधामा छन्
बुढीसँग बोल्ने बहानामा
एकपटक सुनाऊँ कि छोराहरूलाई
आफ्नो आवाज —
‘मैले भनेजस्तो चराका बचेरा र मान्छेका बच्चा
उस्तै होइन रहेछन्
चरा बनेर उड्ने चराका बचेराहरूसँग
ज्ञान हुन्छ विवेक हुँदैन
त्यसैले निःस्वार्थ उडेपछि
फेरि कहिल्यै फर्किदैनन् गुँडमा !
मान्छे बनेर हिँड्ने मान्छेका बच्चाहरूसँग
ज्ञान पनि हुन्छ विवेक पनि हुन्छ
त्यसैको उपज हो, आज यिनीहरूको उपस्थिति
वा नबोली/नसुनाई सिधै जाऊँ
मलामीहरूका पदचाप सँगसँगै !?’
आमा दुबिधामा परेकी छिन्
प्रश्न सोध्ने बहानामा
एकपटक बोलूँ कि छोराहरूसँग —
‘बाले भाग लगाइदिएको लालपुर्जा
बोकेर हिँडेपछि
बा बाँचुन्जेल
किन फर्किएनौ तिमीहरू बा बसेको पिँडीमा?
वा नसोधी/नबोली सिधै जाऊँ
मलामीहरूका पदचाप सँगसँगै !?’
छोराहरू दुबिधामा परेका छन्
‘आमाले आफ्नो काँधमा जिम्मेवारी थापेको दिन
बाले आमाको घाँटीमा लगाइदिएको सिक्री
र कहिल्यै आफ्नो हात नछाडून् भनेर
आमाले बाको औँलामा लगाइदिएको औँठी
कसरी भाग लगाउने !?’