

सूरज चापागाईँ (मणिपुर)
धरती बचाउन उभिएका छन् मानिस
एक अँजुली उज्यालो बोकेर
प्रत्येक दिन मानिस आज घाम रोप्दै छन् ।
प्रोबेबिलिटीको अँध्यारो रातले
कटकट खाइरहेछ समय
हाहाकारबिच कतै रित्तो थाल
लडेको छ लावारिस
कतै जलेका सपनाहरूको खरानी धसेर
एक्काइसौँ शताब्दीको कालो हावा गरिरहेछ
नटराज
निकै दिन भयो
भविष्य फुल्ने कोठा बन्द भएको
विद्यालयलाई अनुशासनमा
राख्ने घण्टी नबजेको यति बेला
सहरका बन्द ढोका र कारखानाहरूभित्र
देशको जिडिपी कैद छ।
मानवकै निमन्त्रणामा
आएको महामारीले आज
मानवकै विरुद्ध उभिएको छ
कालो रूप लिएर
प्रकृति कतै दर्शक भई
मानवताको गीत गाउँदै छ
कतै आफ्नो भयावह रूप
प्रदर्शन गरिरहेछ
तर पनि पृथ्वीको मालिक मानिस,
हारेको छैन
भोलिको नयाँ बिहानका निम्ति
आज कैयौँ अग्निपरीक्षामा होमिएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
