सुन्दै आएका हौँ हामीले सानैदेखि

पृथ्वीबाहेक

अन्य ग्रहमा जीवन सम्भव छैन

किनभने

त्यहाँ अक्सिजन छैन

अनि

पानी पनि छैन !

के जरुरी छ

पानी र अक्सिजन नै चाहिन्छ

ध्रुवकुमार सापकोटा (नेदरल्यान्ड्स)

जीवनको अस्तित्वका लागि ?

हाम्रो धर्ती हो र ?

त्यो अर्कै ग्रह हो

हुन सक्छ त्यहाँ पानी

अक्सिजनबिना नै जीवन सम्भव होस् !

त्यहाँ पनि मान्छे हुँदा हुन्

तर

मान्छेका चार हात

अनि

चार खुट्टा हुँदा हुन्

हुन सक्छ त्यहाँ पनि जनावर हुँदा हुन्

तर

उनीहरूका दुई हात

अनि

दुई खुट्टा हुँदा हुन् !

के जरुरी छ

पृथ्वीमा जस्तै सबैतिर

एउटै खाले जीवन होस् ?

उस्तै संरचना  होस्

हुन सक्छ त्यहाँ महिलाहरूको संसार होस्

पुरुषलाई बिहे गरी महिलाले भित्र्याउने चलन होस्

पुरुषलाई महिलाले सम्भोग गरून्

अनि

गर्भाधान गरून्

तर फरक होस् धर्तीमा भन्दा

९ महिना हैन

२७ महिना पछि मात्र

सन्तान जन्माऊन् पुरुषहरूले

प्रसव पीडाले छटपाऊन् पुरुषहरू !

महिलाहरू मुजुरा हेर्न जाऊन्

पुरुषहरू नाचून्

महिलाहरूको प्यालामा

पुरुषले मदिरा भरून्

महिलाहरू सुर्ती खाऊन्

चुरोटको धुवाँ उडाऊन्

पुरुषहरू एस्ट्रे सफा गरून् !

हुन सक्छ त्यहाँ

महिलाहरू पुरुषमाथि दमन गरून्

पुरुषहरू घरको काम गरून्

भाँडा मस्काऊन् पुरुषहरू

ढिकीजाँतो गरून्

घाँसदाउरा गरून्

अनि

महिलाहरू हुक्का तानेर बसून् !

हरेक साँझ लोग्नेले स्वास्नीको खुट्टा मिचून्

हरेक बिहान स्वास्नीको गोडा धोएर पानी खाऊन् !

बेला-बेला फाट्टफुट्ट

अखबारका पानाहरूमा खबर आइरहून्

महिलाले बलात्कार गरेको

पुरुषको अनि

आफ्नो बेइज्जत सहन नसकी

आत्महत्या गरेको पुरुषले !

बेलाबखत प्रदर्शन र जुलुस गारिरखून् पुरुषहरू

आवाज बुलन्द गर्दै पुरुषमुक्तिको

पुरुषहिंसा बन्द गर्

बलात्कारी नारीलाई फाँसी दे

पुरुषअधिकारको संरक्षण गर्  !

म एउटा यस्तो ग्रहको खोजीमा छु !