ए मान्छे !
तिम्रा मान्छेबाटै छ रचिँदै, तिम्रो ध्वंस–लीला
प्रेम–श्रृङ्खलाले बनाएको जञ्जीरभित्र
कति उपहास बनाउँछौ आफूलाई ?

नगर प्रेम !
प्रेमको विरुद्धमा छन् पुष्पहरू
फूलले तिम्रो चुम्बन सहन्छे
छुवाइ अनि यौवनको माधुर्यमा भुलाउँछे आफैँलाई
तर, नखोज ए मान्छे ! टिप्न
तिम्रो शरीर छियाछिया पारिदिन्छन्
अनि मारिदिन्छन् फूलले नै
किनकि,
यो मान्छेविरुद्धका फूलहरूको समय हो ।

ए मान्छे !
यो मान्छेविरुद्धको युग हो
अब छाडिदेऊ घन ठोकी खुकुरी बनाउन
किन सिलाउँछौ लुगा ?
भो पर्दैन बनाउन जुत्ता ।
तिम्रो खुकुरीले रेट्छ तिम्रै प्रेमको गला
तिम्रो लुगा लगाएर पल्केका छन् तिम्रै छाला च्यात्न
तिम्रो समाज अनि तिम्रा मान्छेहरू
तिमी मान्छेभित्र मानवता नखोज
यहाँ त भेटिन्छन्
मान्छेविरुद्धका मान्छे ।

तिम्रो क्रान्तिकारी युगले जन्माएको
तिम्रो ‘दलित’ शब्दले झन्झन् थिचिएका छौ तिमी
कुल्चिइएका छौ, अँचेटिइएका छौ
विन्ती, मारिदेऊ अब ‘दलित’ शब्दलाई
फ्याँकिदेऊ अब तिम्रा पञ्चेबाजाहरू
भत्काइदेऊ तिम्रा आरनहरू
भाँचिदेऊ सियो अनि चुँडालिदेऊ धागो
भोलि फेरि ‘दलित’ भनिएकै कारण
हजारौँ प्रेमीहरूले
प्रेमको खातिर आफूलाई बलि चढाउन नपरोस् ।

राक्षसहरूको शिविर भत्काउनुअघि
मारिदेऊ तिम्रो अस्तित्व अनि
जन्माऊ छुट्टै मानवीय क्रान्ति
तिम्रा सन्तानलाई फेरि यही शब्द नसुम्पनू ।
मित्र !
यहाँ मान्छेविरुद्धका मान्छे भेटिन्छन् ।