वनमासाले ढाकिएको
मेरो गैरीखेत
आजकल
हरियो हुँदै आको छ ।

भूमण्डलीकृत संसार चिहाएर
मेरा काकाले
भर्खर आँगन टेकेका छन् ।
काकी दंग परेकी छन्
भाइ मख्ख परेको छ ।

सरकार हर्ष र विस्मातले रूग्णिएको छ ।
अनागरिक नागरिक ठान्छ
नागरिक अनागरिक गन्छ ।
सकिन्छ र सकिन्नक‍ो दाउपेचमा
भक्भकाएको छ ।
एउटा मुर्दा सरकार बनेर ।

अमेरिका, युरोप न अष्ट्रेलिया
चाहिएको छ मालतीलाई ।
न सिङ्गापुर, न स्विजरल्याण्डको
सपना सजाउनु छ व्यासी भाइलाई ।
केवल,
उनीहरूलाई एउटा सिङ्गो
देश चाहिएको छ ।
अखण्ड नेपाल ।

दशक बित्दा नबित्दै कालीले
फेरेको धार,
पत्तो नपाउने सरकार
मौसमी राष्ट्रवादको विगुल फुक्दै
चुनावदेखि चुनावसम्मको यात्रा
तय गरेदेखि
अचेल उसको राष्ट्रवाद तुहिएको छ ।

सडक लम्पसार परेको छ ।
जैविक इञ्जिनमा लक लागेको छ ।
नियति नियम बन्लाजस्तो छ।
रातदिन जागा बस्नु पर्ने,
व्रत-व्रता बन्दै जाँदा
दाह्रा, सिङ र नङ्ग्रा भाँचिएका छन् ।
भुत्ते बनेका हतियार चलाएर
सीमारेखा खोजेजस्तै गर्दैछ ।
मौसमी राष्ट्रवादको अविछिन्न नारा
कहिले माथि बसेर
कहिले तल झरेर ।
एउटै भीरका हनुमानहरू ।

वर्षातले साथ छोड्दा
समृद्धिसूचक ग्राफ
ओरालिन्छ ।
कटु सत्यलाई पोथ्राले
छोप्ने कोसिस कति गर्छौ ?
काका, मालती र व्यासी भाइको
पसिनाले सिञ्चित
यो
माटोमा
मौसमी राष्ट्रवाद उरालेर
भर्याङ चढ्छौ
समृद्धिको कागज बोकेर ।

वालिङ् नगरपालिका -१४ , गाएडाँडा स्याङ्जा