उज्यालो बनेर
चमचम चमचम चम्के पो
बस्ती र फाँटहरू
तर
उज्यालो बोकेर हिँड्ने
ती जुनकिरीहरू
कतार चम्कन्छन्
मलेसिया चम्कन्छन्
अरबका सुख्खा बालुवा भएर चम्कन्छन् ।

चम्कनैपर्ने त

कमल अर्याल

मेरा कुवा र धाराहरू  हुन्
गाउँ र बेँसीहरू हुन्
ती  मठमन्दिर र ठाँटीहरू हुन्
चम्कनैपर्ने त
सुख्खा टारीहरू थिए
रुक्खा बारीहरू थिए
ढुङ्गा खानि र फलाम खानिहरू थिए
तामा खानि र सुन खानिहरू थिए
अझै
चम्कनुपर्ने त
गाउँका
स्कुलहरू छन्
स्वास्थचौकीहरू छन्
बाटाघाटा र पुलपुलेसाहरू छन्
चम्कनुपर्ने त सिङ्गो
कर्णाली  छ
रुकुम र रोल्पाहरू छन् ।
यहाँ त
बुढा बा र आमाका रोगी आँखाहरू
आँसु लिएर चम्किरहेका छन्
चमेली र मनमायाहरूका
बैँस झरेर आशा मरेर निराशा
एक्लोपन चम्किरहेछ
बाबुको काँध चढेर
औँला समातेर
ढाड चढेर हत् घोला हत् गर्ने
रमाउने हाँस्ने र खेल्ने
बाबुनानीहरूको बाल्यकाल झर्‍यो
खुसी झर्‍यो उमङ्ग र हौसला झर्‍यो
उनीहरूका
मनभरि कल्पना र तृष्णा चम्किरहेछ
जुनकिरीहरू
कतार चम्कन्छन्
मलेसिया चम्कन्छन्
अरबका सुक्खा बलुवा चम्कन्छन्
जुनकिरीहरूका बत्ती जोडेर
उज्यालो छर्न सकिन्थ्यो
जुनकिरीहरूका उज्यालो जोगाएर
ऊर्जा बनाउन सकिन्थ्यो
हेर
युरोप अमेरिकाजस्ता देशले
जुनकिरी जोडेर कहाँ पुगे
हामी जुनकिरी छोडेर
उज्यालाको मृगतृष्णामा
भौँतारिरहेका छौँ ।
                     –  चितवन