सोनामएम लामा

केही वर्षदेखि
भूतपूर्व लडाकु
शारदा नदीको किनारमा
बकाइनो रूखको छायामा बसी
टोलाइरहेछ ।
यो दृष्य देखेर
म एकैछिन रोकिएँ ।

उसको हुलिया हेर्दा
गहुँगोरो वर्ण भएको
कपाल फुल्दै गरेको
अनुहारका छाला चाउरिँदै गएको छ ।

ठिक पारीपट्टि नदी बगरमा
केही बच्चाहरूका हुल खेलिरहेको छ ।
यो मनोरम दृष्यलाई
ऊ निकै अनुरागी भएर
हेरिरहेको छ ।

ऊ शान्त अवस्थामा छ तलाउजस्तै
ऊ आनन्दमा छ पेट भरेको गोरुजस्तो
ऊ चाहन्छ कि जीवन यस्तै सुन्दर होस्
उसलाई सनक चल्छ कि यो ठाउँलाई शान्तिक्षेत्र घोषणा गरिदिऊँ ।

उसलाई लाग्छ कि
यी बच्चाहरू सधैँ यसै गरी खेलिरहून्
यो बतास यसै गरी चलिरहून्
मलाई लाग्यो
ऊ अत्ति जीर्ण भइसकेको छ
र मैलै कामना गरेँ
ए बतास अलि सुस्त चलिदेऊ
यसकारण कि ऊ फुङ्ग उड्न सक्छ
र विलीन हुन सक्छ यतै कतै
शारदा किनारको वायुसँगै
अफसोस यो छ कि
ऊ प्रयश्चित्त गर्न चहान्छ ।
भूतपूर्व दिनहरूमा
स्कुलबसमा बम राखेर
फरार भएको स्मृतिले
ऊ फेरि भावविह्वल भएको छ
किनकि ऊ अहिले शान्तिको खोजीमा छ ।।