लेखक
शब्दहरूको कालो वीर्यलाई
सेता कागतका नम्र शय्याहरूमा
तप्प-तप्प स्खलन गरेर
ऊ कदापि थाक्दैन
र त ! जन्म दिन्छ
‘मृत्युु’ नामक एक अमर पुस्तकलाई !
देश हल्लाउने कोठा
कस्तो होला
अहङ्कारको जेलमा कैद
त्यो रित्तो कोठा
जसले एक शब्द नबोली देश हल्लायो ,
कोटाको क्रूर इतिहास खलबलायो ?
अब कुन कोटामा पर्छ होला
त्यो देश हल्लाउने कोठा ?
जिन्दगी
हातहरूबाट श्रम
र आँखाहरूबाट सरम
चुहिएपछि मात्रै थाहा भयो
जिन्दगी केवल नदी होइन रहेछ !
रहेछ किनाराहरूको प्रतिलिपि पनि
मनका भेलहरू ठोक्किँदा
आकार बदलिरहने ।
पीयूषीकरण
हिजो बेथा लागेकी
तपाईँकी छोरीबुहारीको
जिल्ला अस्पताल सोलुमा
सफल प्रसूति गर्ने मै हुँ;
डा. अछुत दमाई
र पर्चीमा लेखिदिएको छु दवाई;
बच्चालाई स्तनपान गराउनुपूर्व
छर्किनुहोला सुत्केरीका छातीमा
चौबिस क्यारेटको –
विशुद्ध सुनपानी !
______________________________
ध.उप.म.पा १३ राजपुर, कैलाली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला