म रहरहरूको सहरमा छु
पुँजीवादको कङ्क्रिट जङ्गलभित्र
रोग, भोक र शोकको कहरमा छु
यो सहरमा
मान्छे मरेपछि लगिँदैन घाटमा
लगिन्छ सिधै आइसियु र भेन्टिलेटरमा
जहाँ पैसाको बिटामाथि चिता बनाएर
जलाइन्छ जिउदा लासहरू
लाससँगै जल्छन्
घरबार/खेतबारी/हलगोरु
मानौ बैतरणी गरिन्छ त्यहाँ
सेता कोटे पण्डितहरूबाट
जहाँ शोकको महासागरमा
मान्छेलाई डुबाएर यो सहरले

समृद्धिको नक्कली सगरमाथा देखाइरहेछ

विश्वरसिंह मेवाहाङ

यो सहरमा
भोकाउनेले खान पाउँदैन
खान पाउनेलाई भोक लाग्दैन
कोही खाना खोज्न कुदिरहेका
कोही खाना पचाउन कुदिरहेका
यति छरपस्ट छन् खाली पेटहरू
हेर्दा यस्तो लाग्छ
पेटले मान्छेलाई कुदाइरहेको छ नाङ्गै
निर्लज्ज यो सहरको गल्लीहरूमा
पेट पाल्न पेट बेचिरहेका
भोकको बिस्कुन सुकाइरहेका
कुरूप लाग्ने यी छ्याके अनुहार छोप्न यो सहरले
आफ्नो टाउकामा ठुला ठुला होर्डिङ बोर्ड राखेर
अर्धनग्न स्त्रीलाई कृत्रिम मुस्कान छर्न लगाइरहेछ
यो सहरमा
मान्छे पशुजस्ता छन्
पशु मान्छेजस्ता छन्
मलमलको ओछ्यानमा सुत्ने बेलाइती कुकुरले
बरन्डाको डिलबाट भुक्छ तल सडकपेटीमा
जहाँ सुतिरहेछन् ढुङ्गाको सिरानी लगाएर
रिक्सावालाहरू/भरियाहरू कवाडीवालाहरू
पसिना बेचेर एक छाक खान पुग्दैन कसैलाई
बिहान बेलुका मासुभात छ कुनै पशुलाई
मान्छेको अर्थ गुमाएको यो सहरले
चोक-चोकमा मान्छेको शालिक बनाएर
ढुङ्गामा मान्छेको आत्मा खोजिरहेछ
म आफ्नै रहरले सहरमा छु
पुर्खाको किस्मत र किपट भुलेर गाउँ छाडेको
म आफ्नै रहरले कहरमा छु ।
          – सङ्खुवासभा