विनोद देउवा

म प्रश्न गर्छु –
भ्रमर चुम्बनले
झर्दा हाँगाबाट फूल
उसले स्वतन्त्र महसुस गर्छ
कि गुनासो गर्छ अधुरो जिन्दगीको ?
कि बस् त्यही
एक चुम्बनका लागि
ऊ पर्खेर बसेको हो
ऊ फक्रेर बसेको हो ?
वा ऊ केही पल अझै
बाँचिरहन चाहन्छ ?
विद्रोह गर्दै नियतिसित !
राधा भन्छिन्
हरेक चुम्बनमा फूल झरिहाल्दैन ,
जून झर्लाजस्तो हुन्छ
त्यहाँ प्रायः भमरो जाँदै जाँदैन
झर्न लागेको फूलमा पनि
कुनै दिन भमरो गइहालेछ भने
न त्यो भमरो साधारण हो
न त्यो फूल नै
त्यति असाधारण चुम्बनमा
झरेर फूललाई केही गुनासो होला?
त्रिचन्द्र कलेज