आमाले माया गरेर दिने
अण्डा फुटाएर भित्रको पहेँलो भागजस्तै
कसले पहेँलो घाम टपक्क टिप्दिन्छ होला
आकासको पूर्व धारमा
प्रत्येक बिहान ।

कहाँबाट
आउँछ होला यो सिरसिरे चिसो बतास नाच्दै
बारी बारी
मेरो शरीरसम्म
र कहाँ पुग्छ होला गोधुलीसम्म
कामको बीचबीचमा फर्किएर
मलाई बेस्सरी अँगालो हालेर
अनगिन्ती म्वाई खाने मेरी आमाजस्तै ।

वसन्तसँगै मेला भर्न आएका
यी अनेकौँ रंगीबिरंगी चराहरु,
कहिले आइपुगे होलान्
चिरपरिचित झैँ लाग्ने टुप्लुक्क जङ्गलभरि
र बिना प्रतिवाद
किन र कसरी स्वागत गर्छ होला यो घनाघोर जंगल
जति पटक
पछ्याउँदै जहाँ गए पनि
मलाई बोकेर हिन्ने मेरी आमाजस्तै।

धर्तिमा मुस्कान फलाउन, आँत भिजाउँदै
आफ्नै लयमा सुसाउँदै निरन्तर हिँडिरहने
नदीलाई कसले सिकाउँछ होला समुद्रमा मिसिन
जति दुःख भए कलेँटी ओठहरुमा मेरै निम्ति
निरन्तर मुस्कान फुलाइरहने मेरी आमाजस्तै ।

हरेक रात कसले उदाउँछ चन्द्रमालाई चकमन्न हुने गरी
र फेरि कसले बनाउँछ गोलो रोटीजस्तो उज्यालो बिस्तारै
समयको यो स्वअन्तराल, कसले नियन्त्रण गर्छ होला
मेरी आमाले झैँ
आफैँ थाहा पाएर मलाई पिलाउने दुधजस्तै ।

मेरी आमा जस्तै विशाल प्रकृति आमा
बोल न मेरी आमा जस्तै मसँग
मलाई तिमीलाई पनि हँसाउन मन छ
किनकि तिमी पनि पक्कै रुन्छ्यौ होला
लुकी लुकी मेरी आमा जस्तै ।

आमाले माया गरेर दिने
अण्डा फुटाएर भित्रको पहेँलो भागजस्तै
कसले पहेँलो घाम टपक्क टिप्दिन्छ होला
आकासको पूर्व धारमा
प्रत्येक बिहान ।