१. आमुख :

असमेली साहित्याकाशमा प्रेम विश्वकर्मा एउटा परिचित नाम हो । कविता, निबन्ध आदि लेखे तापनि गीतकारका रूपमा उनको छुट्टै पहिचान छ । गायनमा त छँदै छ वादनमा पनि उनको दखल छ । सायदै यो कला उनको घरबाटै विकसित भएको होला । उनका बाबुबाटै अनुप्रेरित भएर सङ्गीतका क्षेत्रमा लागिपरेको कुरा उनी भन्छन् । मिलनसार र परोपकारको भावनाले जीवनको यात्रामा हिँडिरहेका प्रेम विश्वकर्माको हृदय प्रेमले नै भरिएको छ । त्यसैले उनका गीतहरूमा पनि प्रेमको पुकार छ ।

२. नेपाली गीत र असम 

पूर्वमा वैदिक युगदेखि गीतिलेखन परम्पराको थालनी भएको मानिन्छ भने अज्ञात रचनाकार रहेका विभिन्न लोकभाकाका गीतहरू भजन, सवाई, लहरीजस्ता गेयात्मक गुणयुक्त काव्य आदिलाई पृष्ठभूमिमा राखेर नेपाली गीतिलेखन परम्परा अघि बढेको पाइन्छ । सङ्गृहीत रूपमा सन् १९०० तिर प्रकाशित हाजिरमान राईको ‘मीठा मीठा नेपाली गीत’लाई नै निर्विवाद रूपमा भारतबाट प्रकाशित प्रथम गीतसङ्ग्रह मानिँदै आएको छ । (समकालीन भारतेली नेपाली साहित्य : गति र प्रवृत्ति, पृष्ठ-५६) समालोचक नवीन पौड्यालको समालोचनात्मक पुस्तक ‘साहित्य अनुशीलन’को ‘भारतमा नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति’ लेखमा पौड्यालले असमको गीत लेखनको प्रसङ्ग ल्याउँदै सन् १९५६ सालमा विपिनदेव ढुङ्गेलद्वारा सम्पादित ‘गीतमाला’मा असमका हरिनारायण उपाध्याय र अन्यको गीतहरू प्रकाशित भएको अनि गङ्गाधर खतिवडा, प्रेमसिंह सुवेदीले सन् १९५५ मा ‘तीजको मैदानमा बैनीको आँसु’ गीतसङ्ग्रह प्रकाशित गरेको तथ्य उल्लेख गरेका छन् तर असममा गीतको चर्चा उल्लेखित समयावधिभन्दा अघिदेखि नै भइरहेको तथ्य उपलब्ध छ । सन् १८९७ मा स्थापित विश्वनाथ जिल्लाको बिहालीमा अवस्थित श्रीश्रीपीताम्बर पीठ स्थापित कालदेखि नै भक्तहरूबाट भजन-कीर्तन तथा धेरैजसो हरिनारायण विद्याभूषणद्वारा लिखित कृष्ण भक्तिका गीतहरूको गायन हुन्थ्यो । बिहालीका नरपति मुक्तानको ‘सम्झना’ (दिनलिपि, मरणोत्तर प्रकाशित, सन् १९९२, प्रकाशक- कमल मुक्तान) मा सन् १९०७ मै वाराणसीबाट गीत पुस्तक ‘प्रेम तरङ्ग माया लहरी’ प्रकाशित भएको तथ्य उपलब्ध छ ।

कृष्णनील कार्की(असम)

यहाँ म असमबाट प्रकाशित गीतसङ्ग्रहका साथै कुनै-कुनै कवितासङ्ग्रहमा गीतहरू पनि समावेश गरिएका कृतिहरूको उल्लेख गर्न चाहन्छु । महानन्द सापकोटाको ‘मन लहरी’ (१९२३), हरिनारायण विद्याभूषणको ‘सङ्गीत चन्द्रोदय’ (१९२७), ‘गीतमाला’ (१९५६), रामजी ज्ञवालीको ‘गीतसङ्ग्रह’, प्रेमसिंह सुवेदीको ‘तीजको मैदानमा बहिनीको आँसु’ (१९५५), हरिभक्त कटुवालको ‘सम्झना’ (१९५९), ‘बदनाम मेरा यी आँखाहरू’ (१९८७, कविता र गीत), कुलबहादुर छेत्रीको ‘गीत मञ्जरी’ (१९८६), टीकाराम उपाध्याय निर्भिकको ‘राग अनुराग’ (१९७३), तुङ्गनाथ उपाध्याय नेपालको ‘माधुरी’ (१९९१), ‘यहाँ यस्तै छ’ , चन्द्रकला नेवारको ‘चन्द्रकलाका गीतहरू’ (१९८८),’ तृष्णाका लहरी’ (२००५), गोमादेवी शर्माको ‘तिम्रो प्रेरणा’ (१९८६), नवराज छेत्रीको ‘मेरा केही गीतहरू’ (१९८७), गुरुभक्त धितालको ‘मेरा परी मेरा गीत’ (१९८८), बद्री गुरागाईँको ‘गीतायन’ (२०००), दिलीप शर्मा सिटौलाको ‘जीवनादर्श’ (१९९९, कविता र गीत), हरि गजुरेलको ‘मान्छे कथा खोज्दै’ (कविता र गीत, २०१६), कबीर सिंह छेत्रीको ‘बध्यभूमिका अँध्यारा रातहरू’  (२०१४, कविता र गीत), कृष्णप्रसाद भट्टराईको ‘सङ्गीतका लहरहरू’ (२०१३), कृष्ण क्षत्रीको ‘गीत सरगम’ (२०१४), चक्रपाणि शर्माको ‘सयपत्री’  (२००३), नन्द भट्टराईको ‘नन्द भट्टराई दृष्टि र सृष्टि’ (मरणोपान्त प्रकाशित, कविता, लेख, गीत आदि, २०१३), टीका भट्टराईको ‘यहाँको ढुङ्गा र माटाले के भन्छन्’ (१९९१),’ मन्थन हृदय क्रन्दन अभिव्यक्ति’ (२००४),’ हर्ष-विषादका मुनाहरू’ (२०१२), प्रह्लाद बानियाँ छेत्रीको ‘धेरै आँखा रोजेँ मैले’(२००४), रत्नप्रकाश गुरुङको ‘प्रेममाला’ (२००४), डा. शान्ति थापाको ‘माया’ (२००४), मोहन सुवेदीको ‘गीतको मूर्च्छना’ (२०१२), थानेश्वर शर्माको ‘गीतको गल्लीहरूमा’ (२०१३), डिल्लीराम खनालको ‘आरोह-अवरोह’ (२०१७, कविता र गीत), जीतबहादुर सोनारको ‘कताकता एकान्तमा’ (२०१७),’ सिर्जना’,  प्रेम विश्वकर्माको ‘मादल’ (२०२०), रिजुदेवीको ‘गीत मञ्जरी’ (२०२०), पुष्पराज श्रेष्ठको ‘नौलो जागरण’ (२०२०) ।  फुटकर गीत लेख्नेहरूमा-गङ्गाधर खतिवडा (हार्मोनियम मास्टर), इन्द्रकान्त कार्की, हरेण सुब्बा, लीलबहादुर क्षत्री, युद्धवीर राणा, डा. नारायण चन्द्र उपाध्याय, नरबहादुर दर्जी, कृष्ण मिजार, तिलक नेवार, विनोद खनाल, गोविन्द शाण्डिल्य, प्रभाकर न्यौपाने, उदय शाण्डिल्य, विजय कट्टेल, मोहन छेत्री, ध्रुव ओजा, हरि लुइँटेल, जनकराज उपाध्याय, आरती नेवार, कृष्ण केसी, धर्मराज उपाध्याय, दीपक न्यौपाने, मोहन छेत्री,  कृष्ण भट्टराई (बडसोला), चक्र बास्तोला, हरि दवाडी, राम ढकाल, छविलाल सुब्बा, ललित सुब्बा, यदुनाथ वशिष्ठ, कर्ण मिजार, लक्ष्मण राई, सूर्य रिजाल, जीत मिजार, लीला तिमसिना, रेवतीमोहन तिमसिना, गोपाल काश्यप, ओमप्रकाश बस्नेत, हेमन्त चम्लागाई, ओमराज शर्मा, सुनीता शर्मा, उमा पोख्रेल, नेत्र कट्टेल, भीम धमाला, राजु काश्यप, नवीन भराली, अर्पना शर्मा, डम्बर रिजाल, घनश्याम शर्मा, दिलीप लोहार  आदि गीतकारहरूका गीतहरू पनि कतै क्यासेटमा भने कतै थिएटरमा बजेका छन् । पत्रपत्रिकाहरूमा पनि प्रकाशित भएका छन् ।

३. गीतकार प्रेम विश्वकर्माको परिचय :

उनको जन्म लखिमपुर जिल्लाको महनदी भन्ने गाउँमा सन् १९६८ को १ अक्टोबरमा भएको हो । वर्तमान उनको बसोबास विश्वनाथ जिल्लाको मधुपुर गाउँमा छ । उनी भारत सरकारको कृषि यन्त्र प्रशिक्षण एवं परीक्षण संस्थानको लेखापालको पदमा कार्यरत छन् । विभिन्न सङ्घसंस्थासँग जडित हुँदै सामाजिक, सांस्कृतिक, साहित्यिक गतिविधिमा सक्रिय देखिन्छन् । उनमा एक-दुई पत्रिकाको सम्पादन गरेको अनुभव पनि छ । उनले सन् १९९९ मा पूर्व डिक्रङ भानु सांस्कृतिक विकास केन्द्रको अगुवाइमा इटानगर दूरदर्शन केन्द्रमा तिहारको दिन प्रसारित लोकनृत्य (देउसी, भैली, चुड्के र मारुनी नृत्य) मा सङ्गीत परिचालनाको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी देवेन छेत्रीको गीत एलबम ‘मनका कुरा’मा मादलवादक र अर्को एलबम ‘हे कान्छी’ मा गीतकारका रूपमा देखिएका थिए । स्थानीय मञ्च अथवा सभा र समितिहरूमा पनि उनको गीतसङ्गीतको धुन सुन्न पाइन्छ । असमका विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा पनि विश्वकर्माको गायन-वादनले सम्मान पाएको छ ।
उनको पहिलो तथा एकमात्र कृति ‘मादल’ गीतसङ्ग्रह रहेको छ, जसको समीक्षा गर्ने जर्मेको गरिएको छ, जसमा प्रथम खण्डमा ३५ वटा गीत रहेका छन् । यस खण्डमा देशभक्तिमूलक गीत, आधुनिक गीत, श्रद्धाञ्जलि र अभिनन्दन गीत साथै ३ वटा असमिया र २ वटा हिन्दी गीत पनि राखिएका छन् । दोस्रो खण्डमा ३५ वटा लोकगीत सङ्कलित छन् । यी गीतहरू विश्वकर्माका होइनन् । उनले भविष्य पिँढीका लागि सङ्ग्रह गरिदिने विचारले पुस्तकमा समावेश गरेका हुन् ।

४. विश्वकर्माका गीतहरूको विषयगत प्रवृत्ति :

विषयवस्तुका आधारमा विश्वकर्माका गीतहरूको स्वर अथवा भावपक्षलाई यसरी भाग गर्न सकिन्छ-
१. राष्ट्रप्रेमको स्वर
२. रुमानी भाव
३. जातीय अस्मिताको चेतना
४. आशावादी स्वर
५. प्रेम-प्रीतिको स्वर
६. आदर भाव
७. लोकगीत

४.१
राष्ट्रप्रेमले जन्मेको भूमि, त्यहाँका मानिस, संस्कृतिप्रति अनुराग र सम्मान प्रकट भई भावनात्मक रूपले एकता हुने भावना प्रकट गर्दछ । राष्ट्रप्रेममा शान्ति हुन्छ हिंसा हुँदैन । विकास हुन्छ विध्वंस हुँदैन । सम्मान हुन्छ अहङ्कार हुँदैन । राष्ट्रप्रेम प्रतिरक्षात्मक हुन्छ आक्रामक हुँदैन । विश्वकर्माका गीतहरूमा पनि राष्ट्रप्रेमको स्वर सुन्न पाइन्छ ।
‘’वीरको आँगन यो पूण्यभूमि धाम हो
पवित्र र प्यारो यो मातृभूमि हाम्रो ।
कामाख्या धाम छ शक्तिपीठ हाम्रो
काजिरङ्गा राष्ट्रिय उद्यान छ राम्रो
समर्पण तिमीलाई तन-मन-धनले
हे मातृ………………प्रणाम । ‘’ (पृष्ठ-३३)

४.२
रुमानीलाई स्वच्छन्दतावाद पनि भनिन्छ । यस गीतसङ्ग्रहमा पाइएका रुमानीत्वका प्रमुख मान्यताहरू यस किसिमका छन् । वैयक्तिकता, काल्पनिकता, भावुकता र मानवतावादी दृष्टिकोण । विश्वकर्माका गीतहरूमा पनि रुमानी भावको प्रचुरता देखिन्छ । हेरौँ त….
(क) वैयक्तिकता (व्यक्तिवादी काव्य चिन्तन, रचनामा निजी विषयवस्तुको अभिव्यक्ति)
‘’हामी विश्वकर्मा हौँ  सृजनाको खम्बा हौँ
पूजा हाम्रो कर्म हो कलाकार हामी हौँ ।‘’ (पृष्ठ-३४)

(ख) काल्पनिकता (यथार्थ जगत्‌बाट पलायन, काल्पनिक जगत्‌को विचरण, सौन्दर्य प्रेम, प्रकृतिप्रेम, प्रकृतिमा ईश्वरीय सत्ताको अवलोकन आदि)
‘’हिजो राति सपनीमा देखेँ मैले तिमीलाई
बेहुली मेरी भएर डोलीमा राखेँ तिमीलाई
बिपनीमा तिमी छेउमा आउन खोज्दिनौ
मलाई देख्ता तिमी बमजस्तै पड्किन्छौ ।‘’ (पृष्ठ-४५)

(ग) भावुकता (कृत्रिम भावनाको प्रधानता)
‘’सम्झनाको फूलबारीमा तिमीलाई नै देख्छु
इन्द्रकमल फूल टिपी तिम्रो नाम लेख्छु
आऊ न कान्छा छेउमा बस बस दिलैमा
लैजाऊ न घुमाउन रलैमा ।‘’ (पृष्ठ-४९)

(घ) मानवतावाद एक व्यक्तिका लागि एक प्रेम हो । सबै मानिसहरू बराबर छन् र प्रत्येक जीवन एक अमूल्य वरदान हो । आखिर प्रेम र दयाले कठिनाइहरूमा मद्दत गर्न सक्छ जब मानिसहरूबीच गम्भीर विवाद उत्पन्न हुन्छ । केवल मानवताले रगत र बेस्सरी हत्याको बहावबाट बचाउन सक्छ । मानवतावादले एकअर्काको मित्रको आदर गर्छन् र यसले हामीलाई भरोसासम्बन्धी निर्माण गर्न अनुमति दिन्छ । मानवतावादी दृष्टिकोणका गीतहरू पनि यसमा पाइन्छन् ।
‘’जातले मान्छे ठुलो र सानो कहिल्यै हुँदैन
कर्म र आफ्नो नगरे मान्छे ठुलो बन्दैन
दलित भन्छन् सबैले केमा हामी कमी छौँ
यस्तो विश्वास राख्नेमा हामी सधैँ अघि छौँ ।‘’ (पृष्ठ-३४)

४.३
जातीय अस्मिताको चेतनाले पनि गीतमा ठाउँ पाएको छ । हाम्रो त्याग र बलिदानको गाथा पनि गीतमा बोलेको छ । हाम्रो बलिदानले जातीय अस्मिताको चेतनालाई बारम्बार घचघच्याउँदै हामी यहीँका हौँ भनिरहेको छ । गीतले हाम्रो इतिहास सुनाइरहेको छ ।
‘’देशको सीमा-सीमामा पहरा दिने  नेपाली
मातृभूमि रक्षा गर्ने हामी नै हौँ गोर्खाली
विश्वले जान्दछ साहसी र सरल यो
गोर्खा रेजिमेन्ट हाम्रो जातिको प्रतीक हो
दुर्गा मल्लजस्ता वीर हाम्रो इतिहासमा
बलिदान दिनेछौँ वीरताको चिनोमा
हे गोर्खा दाइ……………………… ।‘’ (पृष्ठ-३२)

४.४
आशावादी स्वर पनि गीतमा देखिन्छ । आशावादी स्वरले मानिसलाई भुलभुलैयावादको सिकार हुनबाट बचाउने चेतना प्रदान गर्दछ । सामाजिक प्राणीका सुख र प्रगतिलाई जागरुक पार्ने बौद्धिकता निर्माण गर्दछ । आशाको सञ्चारले मृत्युमूलबाट जीवनमूल प्रवृत्तिमा फर्कन सरल बनाउँछ । यसले मानिसलाई नकारात्मक चिन्तनको जालोबाट उम्कन सकारात्मक सोचाइ र शक्ति प्रदान गर्दछ ।
‘’आफ्नो धरतीको आँगनमा हिँड्दै
प्रेमको नयाँ गीत गाऊँ
खोला र नाला पहाडलाई सुनाउँदै
प्रेमको नयाँ गीत गाऊँ ।‘’ (पृष्ठ- ४२)

४.५
प्रेम विश्वकर्मामा प्रेमको त खानी छँदैछ । तसर्थ प्रेम-प्रीतिको स्वर गीतमा नआउनु कुनै कारण नै रहँदैन । उनले प्रेम-प्रीतिका गीतलाई आफ्नै तरिकाले सजाएका छन् ।
‘’तिमीसँगै छ मेरो माया तिमीलाई चाहन्छु
यही सत्य हो जानिलेऊ प्रिये हृदयले कहन्छु ।‘’ (पृष्ठ-४८)
४.६
प्रेम विश्वकर्मा योग्यजनलाई यथोचित सम्मान दिने व्यक्ति हुन् । त्यसैले उनका गीतहरूमा आदर भाव स्वतः भित्रिएको छ । श्रद्धाञ्जलिका शब्दहरूले आफ्नै पितालाई सम्मान दिएका छन् । त्यसरी नै स्वतन्त्रता सेनानी दलवीर सिंह लोहार, समन्वय साधक हरि गजुरेललाई । वरिष्ठ साहित्यकार पद्म ढकाललाई लिएर अभिनन्दन गीत रचेका छन् । आफ्नै बुबाप्रति उत्सर्गित श्रद्धाञ्जलि गीतका केही हरफहरू हेरौँ त-
‘’समाजको हितमा दियौ श्रमदान  
आफन्तको खातिर दियौ अश्रुदान
सहज र सरल अक्लान्त कर्मी
हाँसेर बोल्ने तिम्रो थ्यो बानी
गरिब भए पनि तिमी कहिल्यै झुकेनौ
सत्यवादीको नारा कहिल्यै छोडेनौ ।‘’ (पृष्ठ-५८)

४.७
लोकगीत एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने चुड्किलो गेयात्मक विधा हो जसले लय र तालका माध्यममा लोक जीवनका विविध पक्षको उद्घाटन गर्दछन् । लोकगीतमा लोक जीवनका दुःख, पीडा, हाँसो, खुसी आदि झल्किएको पाइन्छ । लोकगीतका रचनाकार अज्ञात नै हुन्छ । लोकगीत लोकजीवनको सरल हृदयको सहज अभिव्यक्ति हो ।
यस पुस्तकमा समावेश गरिएका केही लोकगीतहरू- देउसी-भैली, मारुनी, गर्रा, समला, असारे गीत, सँगिनी, झ्याउरे, बाह्र मासे, चुड्के, गोठाले गीत आदि ।
यहाँ एउटा असारे गीत राखिनेछ । लोक साहित्यको सन्दर्भमा असारेको अर्थ असार महिनामा धान रोपाइँ गर्दा गाउने गीत भन्ने हुन्छ । यो वाद्यरहित कथ्य गीत हो । असार महिनामा गाइने हुँदा यो समसामयिक गीत अन्तर्गत ऋतु गीतमा पर्छ भने रोपाइको काम गर्दा गाउने हुनाले यो कर्म गीत अन्तर्गत पर्दछ ।
‘’बर्खैमा लाग्यो खोला र नाला बगेछ लेउझार
पूर्वै ढोका खोलेर हेर्दा लागेछ असार ।‘’ (पृष्ठ-८०)

उपसंहार :

चर्चा गरिएका बुँदाहरूबाहेक पनि विश्वकर्माका गीतहरूमा समन्वयको वार्ता छ, संस्कृतिको जय-जयकार छ, सहिदको गुणगान छ । आफ्नै गाउँको वर्णन छ । छेउछाउको सौन्दर्य छ । सङ्कीर्णता परिहार गर्दै फराकिलो सोचमा रमाउने चिन्तन छ ।
पुस्तकमा असमिया र हिन्दी गीत पनि सामेल गरिएको छ । नेपाली गीतसङ्ग्रहको नाताले नेपाली गीत मात्रै  राख्ता उचित हुन्थ्यो । केही गीतहरूमा कवितात्मक शैलीको प्रयोग पनि भएको छ । कतै कतै हिज्जेगत र वर्णविन्यास दोष देखिए तापनि प्रेम विश्वकर्माको गीतप्रतिको प्रेम गीतहरूमा प्रस्ट देखिएको छ । प्रेम विश्वकर्माको गीतिलेखनको प्रयास स्तुत्य छ र गीतिलेखनमा निरन्तरताको कामना गर्दै यी गीतहरू सङ्गीतबद्ध भएर श्रोताका माझमा आऊन् भन्ने चाहना राख्तछु ।
सन्दर्भ ग्रन्थ :
१. उत्तर पूर्वाञ्चलका नेपाली साहित्य-स्रष्टा र सृष्टिको जन्मानुक्रमिक सूची, सङ्कलक- मित्रदेव शर्मा
२. समकालीन भारतेली नेपाली साहित्य : गति र प्रवृत्ति- सम्पा. रुद्र बराल
३. साहित्य अनुशीलन- नवीन पौड्याल
विशेष धन्यवाद : मित्रदेव शर्मा, रुद्र बराल, गायत्री नेवार, लक्ष्मीकान्त शर्मा, भीम धमाला, पूर्णकुमार शर्मा र गोपाल काश्यप ।