(भारतीय सीमा सुरक्षा बलद्वारा मारिएका नेपाली सहिदहरूमा समर्पित कविता)
राम् राम् साप !
म चौवालिस्
कारगिल वारको एक जख्मी सिपाही
यो बार
इस्टकोटको गोजीमा पट्टा हैन खत् घुसारेर
पिन्सिन क्याम आएको छु ।
यो खत्, तिमी जो कुछ् भन–
क्यानाम ! अक्षरहरूले पानामा लेखेको घाउ
वा चोटले दिलमा लेखेको घाउ ।
यो ख़त, तिमी जो कुछ् भन ।
हरबार जब यो क्यामको हरियो गेटभित्र छिर्छु
मेरो कानमा
हजारौं बम र गोलीका आवाजहरू बज्न थाल्छन् ।
‘हुकुमलाई जवाफ छैन, काललाई ओखती छैन‘
सिरुपाते खुकुरी नचाउँदै लडेका
वो दिन याद आउँछन् ।
हरबार जब यो क्यामको हरियो गेटभित्र छिर्छु
उमेरको भूमरीमा फन्फनी उल्टा बगेर
म पुग्छु जुद्को मैदानमा
याद आउँछ
गोली छल्दै दुस्मनहरूलाई एटेक गरेको ।
बहुत याद आउँछ ।
जब मुछ् पलाउँदै थियो नाकको बेसीमा
गल्लाको पछि लागेर
गोरपुर पुगेको याद आउँछ
याद आउँछ
भर्ती भएर नाइन् जिआर जोइन् गरेको ।
कसम खाएको कुछ् दिनमा नै
जुद् मा निस्कने आडर आएको ।
क्यानाम् यो जुद्ले
बहुत् जिस्काएको छ एक बारको जिन्दगीमा
तक्रिबन तक्रिबन कानमा आएर
गोलीले धेरैपटक गाना गाएको छ ।
एलओसी कार्गिलमा
आतङ्कवादीको गोलीले छाती छेडेपछि
चौसठले भनेको याद आउँछ–
पिन्सिन क्याममा मेरी फेमेलीसँग मिल्नु है नम्मरी !
कास्मिरको घना जङ्गलमा
रुखको बोक्रा खाएर पखालाले सिकिस्त हुँदा
पिन्चानब्बेले भनेको याद आउँछ–
गाउँकी सोल्टीनीलाई मेरो याद सुनाइदिनू है नम्मरी ।
हरबार जब यो क्यामको हरियो गेटभित्र छिर्छु
यो बाजुमा दम तोडेका
तिनै अभागी नम्मरीहरूको बहुत् याद आउँछ ।
लिकिन साप्
यो बार कुछ् अच्छा छैन ।
तिम्रो एसएसबी मेरो गाउँ घुसेर मेरै छोरा मारिदियो
दिल टुटेको छ
और खुन बहुत गरम् भएको छ ।
लिनू
यो खत लगेर तिम्रो पिएम् लाई दिनू,
और एकबार सोधिदिनू–
के उनलाई
गोर्खालीको गरम रगत याद आउँछ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।