साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बिन्ती

कविता

Chovar Blues Mobile Size

वियोग, दुःख कालान्तारमा कति हो कति
सुख, समृद्धि भविष्यमा आउँछ भनी
फ्याल्यौँ हामीले राणाकाल, आयो प्रजातन्त्र
भन्दै नाराहरु यही नै हो खुसीको मन्त्र
आशाका बिगुल फुक्दै अर्को जनसागर उर्लियो
दुःखको पहाड पञ्चायत हो भनी विरोधमा कुर्लियो
दशा नेपाली जनतामाझबाट भागेन अझै पनि
सुरु भयो जनयुद्ध हाम्रै लागि उठाऔँ बन्दुक भनी
रगतमा पौडी खेल्दै, सहिदको लाम लाग्यो
अन्त्य युद्धको यसैसँग राजव्यवस्था भाग्यो ।

आयो लोकतन्त्र, आयो गणतन्त्र
रह्यो निकै लामो यात्रा
जनताकै खुसी हो भनी गर्‍यौँ अबिरजात्रा
टुकी, दियो बल्दै थियो आँगनीमा जनताको
उज्यालो हो भनी मक्ख परेको
बल्न थाल्यो राँको
पोल्न थाल्यो यसैले सहिदका आत्मालाई
उही आँशुका आहाल उपहार सारालाई ।

क्रान्ति जनताका लागि भन्नेहरु
आलिसान महलमा बसे
सुन्न छाडे जनतालाई अब
स्वार्थ नामक दलदलमा फँसे
परिवर्तित भयो अनेक व्यवस्था
फरक आएन आचरणमा
फरक आएन व्यवहारमा
फरक आएन प्रवृत्तिमा
गर्वले भर्खरै राजतन्त्र फ्याल्यौँ,
राजगद्दी छोडेर राजा गए
केही क्षण भएको छैन
जनताका बोली हामी भन्नेहरु
आज देशका राजा भए ।

निरीह लाचार हामी, हामीलाई नै भेडा भन्छन्
विश्वास हाम्रो हत्केलामा राख्छन्
विश्वासघात उनै गर्छन्
शक्तिशाली छिमेकी हाम्रा
प्रहरीका बर्दी तान्छन्
अर्कोतिर धावा बोल्दै
हाम्रै भूमि उनै ताक्छन् ।

बोल्ने अब कहिले हो ?
बोल्ने अब कहिले हो ?
नक्सा आउँदा चुकिसक्यौँ भन्दै भरे भरे
भूमि हाम्रो, देश हाम्रो
बाटो खन्ने छिमेक अरे
कालापानी, लिम्पियाधुरा
लिपुलेक हाम्रो सान
मौका यही भो तिमीलाई
बिन्ती नेताज्यू
बचाइदेऊ नेपाल आमाको स्वाभिमान ।

टोखा – ०८ , काठमाडौ

प्रतिक्रिया
Loading...