अटल पहाडजस्तै
संयमित र स्थिर
शान्त समुद्रजस्तै
निश्चल र गम्भीर
पीर तापले पनि
नपग्ले जस्तो
दुःख रापले पनि
नगले जस्तो
अक्सर कठोर लाग्छ
सबलाई बाहरू ।

निरन्तर श्रम
पसिनामा रम्छन्
भन्दैनन् मुखले
मनमनै गम्छन्
घाउ चोटले पनि
नदुखेको जस्तो
काम गर्न कहिल्यै
नपुगेको जस्तो
अक्सर बलिया लाग्छन्
हाम्लाई बाहरू ।

घोटिएर दिनरात
घरपरिवार थाम्छन्
आफूलााई केही चाहिए
सधैँ खल्ती छाम्छन्
न चाहिन्छ नयाँ
न चाहिन्छ मिठो
नबोलेरै काम
सकाउँछन् छिटो
सबै पुगीसरि
सन्तोष भएजस्तो
उतारचढावमा पनि
शान्त लय जस्तो
अक्सर नीरस लाग्छ
सबलाई बाहरू ।

सोचौँ बाहरु
टुटे कस्तो होला ?
धैर्यको बाँध
फुटे कस्तो होला ?

पहाड पुरै पहिरो
गए जस्तो होला
सुनामीको छाल
आए जस्तो होला
भूकम्पले घर
ढले जस्तो होला
प्रलयको आगो
बले जस्तो होला ।

च्यातिएको टाली टाली
सिउँछन् बाहरू
आँसु पीडा भित्रभित्रै
पिउँछन् बाहरू
केही नभको जस्तो गरी
जिउँछन् बाहरू ।
कठोर, गम्भीर, नीरस,उजाड
जस्तो लागे पनि
बाभन्दा जिम्मेवार
छैनन् सायद अरु
गम्भीर नै हुन्छन् सायद
सच्चा बाहरू ।

बुझौँ त्यसो भए
के हुन् बाहरू ?

आमा धर्ती भए आकाश बाहरू
आमा जून भए प्रकाश बाहरू
आमा फूल भए सुवास बाहरू
आमा ममता भए कर्तव्य बाहरू
आमा खुसी भए गन्तव्य बाहरू
आमा कोमल भए समझदार बाहरू
आमा जीवन भए उपहार बाहरु…… ।

फर्पिङ