अजित विश्व ‘वियोगी’ (दार्जीलिङ)

रूखका हाँगाहरूलाई थाहा छ

एकदिन

उसलाई पातले छाडेर जानेछ ।

गुलाबका बोटहरूलाई पनि राम्ररी थाहा छ

कि कोपिलादेखि सँगै फक्रिएर पनि

एकदिन

फूलले माया मारेर जानेछ ।

गाउँकी ठूलीदिदीलाई थाहा छ

कलकल बगिरहेको खोल्छी धारा

हिउँद लागेपछि

सुके रनै जानेछ ।

हेर्दाहेर्दै यो उज्यालो

अँध्यारोसित लुकेरै जानेछ ।

धर्तीका झारहरूलाई पनि

थाहा भइसकेको थियो

कि रातभरिसँगै भएर पनि

घाम देख्नासाथै बिलाएर जानेछ शीत

हारलाई अगावै थाहा थियो

कि उसको कहिल्यै हुने छैन जित ।

यी सबैलाई

सबै कुरा थाहा भए पनि

कसैले छाडेर गए पनि

तिमीले भने मलाई

यसरी छाडेर जानेछौ भनेर

मलाई केही थाहै थिएन ।