आजभोलि
रित्ता झुपडीदेखि सत्ताको फेरो लाउँदै
चरित्रको चरम सिमानामा पुगेका
उन्माद आँखासम्म पनि
ब्रह्मपुत्रको आयतनमा
अझै मौलाइरहेछ ।
उत्पीडनले सुकेका स्नायुमा
छिलबिलाएका छन्
धेरै प्रज्ञाका ऊर्जाहरू ।
भोक चाहे भुँडी या आँखामा होस्
त्यहाँदेखि यहाँसम्मको यात्राबीच
भोक र भोगको धारा चलेकै छ निरन्तर ।
सभ्यताले आकाश छोए पनि
विस्तारित व्योममा पाइएन
निर्धक्क पखेटा फिजाउन ।
छाक टार्ने मेलोको खोजीमा
भोक भोगका निम्ति
बाध्य छ सायद धाउन
बाँच्नेहरूको आँगनमा ।
खोक्रो आधुनिकताको फुस्रो इतिहास
बारम्बार दोहोरिन्छ
यसैगरी ।
एक मुट्ठी प्रकाशको खोजीमा
प्रतिपल लम्किएका पाइलाहरू
आज पनि उसैगरी
डोहोऱ्याउँदै हिडिँरहेका छन्
डाँडामाथिका जून बनेर
रहरसँगै
लहलह मौलाइरहेका बुटाहरूमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला