कृष्ण पी ठटाल (दार्जीलिङ

अनि के लेखिँदै छ अचेल

सोध्ने गर्छन्

मेरो परम मित्रहरू ।

 

आफू भने हेरिबस्छु

भित्ताहरूलाई

टुलुटुलु   ।

 

खै कसरी भनूँ

मित्रहरूलाई

मभन्दा बढी

सपनाहरू दुखिरहन्छ अचेल ।

 

जहिले तहिले

धुम्म लागेको बाटाहरूजस्तै

छोपिरहन्छ धुम्मले

अचेलभरि इच्छाहरू ।

 

माछा किराले खाएर

आधाकल्चो भएको पुरानो किताबहरू

न पढ्न सकिन्छ

न फ्याँक्न मिल्छ

उस्तै उस्तै भएको छ

मेरो स्वाभिमानहरू  ।

 

सोचिबस्छु एकान्तमा

पुर्खाहरू

किन कराए होलान् नि

आँगनमा उभिएर नाङलो बजाउँदै

” दगुर दगुर कुइरो

तेरो  घरमा चोर पोस्यो ।”