किसानको सन्तान हुँ म
परिश्रम मेरो रगतमा छ
मेरो लागि हिँड्नु कुनै ठूलो कुरो होइन ।
जसरी तिम्रा हत्केलाले नोट हरु चिन्दछन्
जसरी तिम्रा नेताहरुले भोट हरु गन्दछन्
हो, त्यसरी नै मेरा पैतालाहरुले घर लाग्ने बाटो महसुस गर्दछन् ।

तिम्रा मोटर गाडी र चिल्ला सडक हुनुअघि नै
हरेक वर्ष,
हिउँ छल्न,
घाम छेक्न,
र सामल भित्र्याउने निहुँमा
भेडा, च्यांग्रा र दुहुने गाईसमेत बोकेर
मेरा बाजे-बराजेहरुले यी डाँडा-काँडा, हिमाल र तराईका फाँटहरु पैतालाले नै नापेथे।
हो, तेही पौरखीको सन्तान हुँ म
त्यसैले हिँड्न म डराउँदिनँ
तर,
यत्रो महलहरुको लस्करमा
एक गाँस र ओतको सामान्य आवस्यकता पूरा नभएपछि
मलाई मजस्तै देखिने
म जस्तै भाषा बोल्ने
र, म जस्तै देउता पुज्ने मान्छे देखेर डर लाग्यो ।

उहिले-उहिले मेरा हजुरबाउहरु मलौट जाँदा
बाटाका अँध्यारा जंगलदेखि तर्किन्थे
जंगली जनावरहरुदेखि झस्कन्थे
त्यसैले रातभर आगो बल्थे ।
मेरा हजुरबाउहरु,
बस्ती देख्दा दङ्ग पर्थे
मान्छे देख्दा फुरुङ्ग हुन्थे
किनकि,
त्यो बेला मान्छे भनेका आड थियो
अनि, बस्ति भनेको सुरक्षा ।

तर आज, बस्ती नै जंगलजस्तै बिरानो भएको बेला
र, मान्छे जंगलका जनावरजस्तै डरलाग्दा भएको बेला
म आफैँ अलमल्लमा छु
र मलाई यो बिरानो ठाउँमा बस्नु छैन ।
त्यसैले म घर हिँड्छु
जति नै दिन लागे पनि
जति नै जंगल छिचोल्नु परे पनि
मलाई मेरो घर पुग्न आउँछ
किनकि मलाई थाहा छ,
कुनै जि.पी.आर.एस. र कुनै गुगल म्यापबिना
मेरा हजुरबाउहरु अबेर नै भए नि घर पुग्थे
र म पनि घर पुग्नेछु।
माहाकाली पारिका मान्छेहरुप्रति तिम्रा बस्तीका गन्थन सुन्दा
मेरो मन झुक्किएको थियो
आज आफू वारि हुँदासमेत तिम्रो बस्तीबाट लखेटिँदा
मन झस्किएको छ ।

खैर,
घर पुगेपछि मलाई एउटै कुराको चिन्ता छ
हजुरबाउहरु जस्तो,
मसँग,
आफ्ना सन्तानहरुलाई रोमाञ्चक बनाउने
जंगली जनावरसँग झस्केको
जंगलमा तर्सेको किस्सा छैन
छ त कहिले नबिर्सिने,
मान्छेसँग डराएको,
मान्छेबाट लखेटिएको नमीठो अनुभव
जुन सुनाउने मसँग हिम्मत छैन ।

कुनै दिन यो बस्तीका मान्छेलाई मेरो गाउँको गोरेटोमा भेटे,
मलाई यिनीहरुलाई-
“मान्छे कस्तो हुनुपर्छ ?”
“बस्ती भेट्दा कस्तो हुन्छ ?”
सम्झाउन मन छ ।
उनीहरुलाई मीठो मसिनो खुवाएर
आफ्नै घरमा बास दिन मन छ ।
ताकि उनीहरुले,
बस्ती र मान्छे भेट्दाको आड र भरोसाको कथा
आफ्ना सन्तानलाई सुनाओस्
र मेरो सन्तानले,
उसको बस्तीमा समस्या भोग्दा
म जसरी रोएर घर पहिल्याउन नपरोस्।

मलाई बस्ती जंगल भएको,
मान्छे जंगली भएको, नमज्जाले बिझाएको छ
त्यसैले म घर हिँड्छु
मैले मान्छेलाई जंगली हुनबाट बचाउनु छ ।
-प्रज्ञा