उमेर एउटै
चञ्चलता एउटै
निश्चलता एउटै
एउटै निःस्वार्थता
र अबोध दुई बालकहरू ।
एकछिनमा कोही आएर
बनाइदिन्छ दुवैलाई छुत–अछुत
र खेल्न दिँदैन मिलेर, टालाटुली–पुतली ।
हृदयभरि भगवान्‌लाई सजाएर
मानवसेवा नै सर्वसेवा सम्झी
लागिपरेकी सुन्तली
वृद्धाश्रममा गएर सबैकी प्यारी छोरी बन्छे
असहायहरूकी सहारा बन्छे
दिदीबहिनी र आफन्त बन्छे
अनि ऊ
जब सबैका लागि प्रार्थना गर्न
घरनजिकैको मन्दिर छिर्न खोज्छे
फर्काउँछन्, एकथान भगवान्‌का स्वार्थी भक्तहरूले—
‘मन्दिरमा तिमी पस्न मिल्दैन ।’
उसलाई दया लाग्छ
ती भक्तहरू, जसले आफूलाई भक्त सम्झन्छन् र
फगत् भावनाविना पत्थर पुजिरहेका छन्
र आफू त्यस्तो समाजमा बस्नुपरेकोमा ग्लानिबोध गर्छे
ईश्वरसँग कामना गर्छे—
उनीहरूलाई सद्बुद्धि मिलोस् ।
समाजको एक समुदाय
सधैँ अर्को समुदायको सेवा गरिरहन्छ निरन्तर
देवता सम्झेर सिँगारिरहन्छ
उनीहरूका लागि जुत्ता बनाइदिन्छ
उनीहरूका लागि कपडा सिलाइदिन्छ
गरगहना बनाइदिन्छ
औजार बनाइदिन्छ
उनीहरूकै लागि मनोरञ्जनात्मक कार्यक्रम गर्छ
र नाच्छ
मन नलागी नलागी यहाँसम्म कि
उनीहरूले पुज्ने भगवान् पनि ऊ आफैँ बनाउँछ
किनकि उसलाई थाहा छ राम्ररी
ईश्वरको पूजाभन्दा ठूलो धर्म हो मानवसेवा
यसरी सुसज्जित भएर
मनोरञ्जन पाएर
औजारहरू समातेर
उनीहरूमा आफू ठूलो हुँ भन्ने दम्भ आउँछ
र आफूलाई सिँगार्ने समुदायमाथि
गर्छन् अत्याचार र दमन
अनि भन्छन्—
यिनीहरू दलित हुन्
अछुत हुन् ।
जुन पत्थरलाई कुँदेर बनाउँछ भगवान्
मन्दिरमा सजाउँछ त्यो
थाहै पाउँदैन
आफूभित्रको ईश्वर मारेर राक्षस भएको
तर पनि आफूलाई ईश्वरभक्त सम्झिरहन्छ
र गरिरहन्छ पाप
मानवलाई नै अछुत बनाएर ।

नेपालगन्ज, बाँके