अपरिचित भीड जम्मा पारेर
सयौँ मानिसका आवाजको
बहस गर्ने ठाउँ हो बालुवाटार  !

धेरैको सपना हो बालुवाटार
एक आनादेखि चारपाँच आनाको सपना
प्रधानमन्त्री बन्ने सपना
दिनदिनैको अट्टाहास
सबथोक हो बालुवाटार
बिचरा बालुवाटार !

चटकीको भ्रम
जडताको शिकार
यात्रीहरूको बिनाकसुरको गन्तव्य
रोगैरोगले आफैँ थलिएर बसेको छ
बिस्तारै जग्गाको कारोबार हुँदै छ
रातारात मोलमोलाइमा तल्लीन हुँदै छ
ज्युँदो इतिहास बोक्दै छ
प्रत्येक रातको बेइज्जतीसँगै
आफैँ बिस्तारै लोप हुँदै गइरहेको छ
बिचरा बालुवाटार !

प्रत्येक दिनमा दर्शनशास्त्रका कुरा गराएर
आफैँ दर्शनको भोगी हुनुपरेको छ बालुवाटार
नियति र अमूर्त विचारसँगै
कार्टुनचित्र बन्नुपरेको छ
थुप्रै सपनाहरू बटुल्दै
आफैँसँग अपरिचित हुनुपरेको छ
बिचरा बालुवाटार !

बालुवाटार अस्पतालका शय्या चिन्दैन
उपहारका अक्सिजन मात्र चिन्दछ
दाहिने हातले उपहार बटुल्दै
देब्रे हातले सुटुक्क कोटको खल्ती भर्छ
श्रीमान् बाहिर भएर के भो त ?
श्रीमतीको प्रवेशले बालुवाटार
गेट-गेटमा बनाउँछ द्वार
बिचरा बालुवाटार !

बालुवाटार
ज्युँदा कुमारीको सतीत्वसँगै खिइँदै गएको छ
आफैँ विरूप बन्दै
सहरदेखि गाउँसम्म आफ्नै सत्ताको विज्ञापन गर्दै
तर दुर्भाग्य
गाउँका कुनाकन्दरादेखि अस्पतालका शय्याहरू
कोरोनाले भरिँदा पनि
बालुवाटारलाई कोरोनाले छुन सकेको छैन
बरु बालुवाटार कोरोनालाई बहाना बनाउँदै
प्रत्येक रातमा सत्ताका लागि
सीमाहरूमा उल्झन बनाउँछ
चुच्चे नक्सामा राष्ट्रवाद देखाउँदै
आफूसित आफैँ बन्दनाका स्वरहरू पैmलाउँछ
आफूले लगाएका दुइटै कोटका रित्ता खल्ती देखाउँदै
मित्रराष्ट्रसँग भ्याक्सिनको याचना गरिरहेछ
बिचरा बालुवाटार !

मदाने – ७ गुल्मी