देख्दै लाग्छ जताततै मनुजमा दिग्दार छायो यहाँ
कोही छैन प्रसन्न चित्त मनमा चीत्कार छायो यहाँ
कालो फाट्छ वसन्त आउँछ भनी पर्खेर हेर्दै छु म
फुल्ला फूल भविष्यमा मखमली आशा सुसेल्दै छु म ।।१।।
हट्ने छन् जब अश्रु यी नयनका खुल्नेछ आकाश यो
थाल्ने छौँ अभियान तीव्र गतिमा बन्नेछ आधार जो
हाम्रै वर्कतले फुलाउन सकौँ आजाद यो स्वर्णिम
पक्कै हुन्छ बगान यो झलमली आशा सुसेल्दै छु म ।।२।।
बन्नेछन् अब ओखती मुलुकमा सञ्जीवनी पाउँछन्
लाग्नेछन् अगुवा युवा जन सबै सम्भावना आउँछन्
निष्ठासाथ सुकर्ममा प्रगतिका औजार जोड्दै छु म
साँच्चै गौरव गर्नलायक नयाँ आशा सुसेल्दै छु म ।।३।।
हाम्रो देश विपन्न छैन अब ता भन्नेछ संसारले
साझा मन्त्र लिएर लम्कन सके उठ्नेछ विश्वासले
पुर्ख्यौली जनको बुझेर महिमा गाथा निफन्दै छु म
नौलो आगतको अभिन्न सपना आशा सुसेल्दै छु म ।।४।।
काला कर्म हटून् र देश जनमा उत्साह सञ्चार होस्
ऊर्जा बाल्न उठून् छटा प्रविधिमा लम्केर गुल्जार होस्
चोटैचोट प्रहारका सकसका काँडा छिचोल्दै छु म
जागा दीप प्रदीप्त भो क्षितिजमा आशा सुसेल्दै छु म ।।५।।
हट्नेछन् तब खिन्नता अधरमा लाली नयाँ छाउँछ
पर्खौँ है जनता छिटै उदयको माली बनी आउँछ
गर्दै सुन्दर कल्पना हृदयमा सङ्कल्प गाल्दै छु म
हेर्दै दिव्य प्रभात छाउँछ भनी आशा सुसेल्दै छु म ।।६।।
साझा मन्त्र सुरम्य राग-लयका भाका सबै खोल्नु छ
नेपाली पहिचानका सरसिला खाकाहरू कोर्नु छ
हाम्रा वैभवका कथा उपकथा पाप्रा उखेल्दै छु म
नेपाली क्षमता कुढिन्न सहजै आशा सुसेल्दै छु म ।।७।।
छन्द- शार्दूलविक्रीडित
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।