भानसिंह धामी

बहुलाएको व्यवस्थामा बिर्को लाएर
अहिलेको अवस्थामा
आउँदासम्म
पैदल यात्रा छोडेर
गाडी मोटर, रेल, हेलिकप्टर र चिलगाडीमा
धाउँदा-धाउँदासम्म
पुरानो शरीरमा नयाँ चेतना नआएसम्म
शरीर पूरै फालेर कहिल्यै विकास हुन्न
कुहिएको अङ्ग नफालेर निकास हुन्न
हजुरबादेखि नातिसम्मका मान्छेहरू
सुदूरदेखि आफ्नै छातीसम्मका मान्छेहरू
हमेसा होसियार होऔँ ।
अग्निको आक्रोश र
पानीको प्रलयमा
बिहानै विलय हुने बाध्यता देखेर
ए ! परिपक्व पदमा बसेको अपरिपक्व मान्छे
अमनचैनमा अलमलिएर
बाहिर-बाहिर घुडाँ धसेर
भित्र-भित्र भुईँभन्दा तल खसेर
मनैको बाघदेखि डराएर
बनैको बाघदेखि कराएर
जोस जाँगर हराएर
बाह्रमासे कुरा गर्न नथाक्ने
मिलाएर मौसम नहाँक्ने
ए ! मनगढन्ते मान्छे !
आफ्नै अनियन्त्रित हुल रहेसम्म
फुट्दैन विकासको मूल
र फुल्दैन समता र ममताको फूल ।
मलाई मट्याङ्ग्रा हान्न सिकाउने
मलाई सर्वत्र बिकाउने
बहुला हिँड्ने बाटो फराकिलो हुँदै र
साधु हिँड्ने बाटो बहुत साँघुरिँदै गएको देखेर
फेरि एकपल्ट बोलेँ म
नबोले पक्का झोले म ।
भन्लान् पढेलेखेका मान्छेहरूले
भुईँको भुईँमै रह्यो घाँसजस्तो
भलिबल र फूटबलजस्तै बजारिए भने
बेला-बेला पछारिए भने
भन्लान् उकुसमुकुसमा फेरिने सासजस्तो
अझै बढी भन्लान् केवल लासजस्तो
झनै उफ्रेर भन्लान् नवयुवकहरूले
कस्तो मान्छे !
साच्चै दुरुस्तै दासजस्तो ।
मन पर्दैन मलाई आश्रित जीवन
कसैको एक गाँसजस्तो
लिलाममा बिक्री भएको घरबासजस्तो ।
केवल मनपर्छ मलाई
सबैको भलाइ
अन्धकार र अहङ्कार जलाई
सत्य सिर्जना फलाई
बाँच्न मनपर्छ मलाई
दुरुस्तै भएर हाँसजस्तो
दूधको दूध र पानीको पानी  बनाउने
असल र सफल जीवन भन्नका निम्ति
चाहिन्छ बाहुबल भन्दापनि
बुद्धि, चिन्तन र चेतना
चहकिलो भएर टहकिलो बन्नका निम्ति
नबनौँ कोही पनि बदनाम बदमासजस्तो
बनौँ सबै जना मधुमासजस्तो ।
सिगास -२, बैतडी