कवि शिरीष कुमार मौर्यको परिचय

कवि शिरीष कुमार मौर्यको जन्म १३ दिसम्बर १९७३ मा नागपुरमा भए पनि उनको शिक्षादीक्षा उत्तराखण्डको नैनीतालमा भएको हो । उनी कुमाऊँ विश्वविद्यालयको ठाकुर देव सिंह बिष्ट परिसर, नैनीतालमा प्रोफेसर (हिन्दी) तथा महादेवी वर्मा सृजनपीठ (कुमाऊँ विश्वविद्यालय, रामगढ़) का निर्देशकका रूपमा कार्यरत छन् । उनका प्रकाशित पुस्तकहरूमा पहला क़दम, शब्दों के झुरमुट, पृथ्वी पर एक जगह, जैसे कोई सुनता हो मुझे, दन्तकथा और अन्य कविताएँ, खाँटी कठिन कठोर अति, ऐसी ही किसी जगह लाता है प्रेम, साँसों के प्राचीन ग्रामोफ़ोन सरीखे इस बाजे पर, मुश्किल दिन की बात, सबसे मुश्किल वक्तों के निशाँ, (स्त्री-संसार की कविताओं का संचयन), ऐसी ही किसी जगह लाता है प्रेम (पहाड़ सम्बन्धी कविताओं का संचयन, सं. : हरीशचन्द्र पांडे) (कविता); धनुष पर चिड़िया (चन्द्रकान्त देवताले की कविताओं के स्त्री-संसार का संचयन), शीर्षक कथाहरू (सम्पादन); लिखत-पढ़त, शानी का संसार, कई उम्रों की कविता (आलोचना); धरती जानती है (येहूदा आमीखाई की कविताओं के अनुवाद की किताब सुपरिचित अनुवादक अशोक पांडे के साथ), कू-सेंग की कविताएँ (अनुवाद) आदि रहेका छन् ।

उनले पाएका केही पुरस्कार तथा सम्मानहरूमा प्रथम ‘अंकुर मिश्र कविता पुरस्कार’, ‘लक्ष्मण प्रसाद मडलोई सम्मान’, ‘वागीश्वरी सम्मान’, ‘गिर्दा स्मृति जनगीत सम्मान’ आदि रहेका छन् ।

उनी हाल वसुंधरा तेस्रो, भगोतपुर तडियाल, पीरूमदारा, रामनगर, जिला-नैनीताल, उत्तराखंडमा बसोबास गर्दछन् । कवि मौर्य गहिरो मानवीय संवेदनाका कवि हुन् । भाषान्तर कविताको यस शृङ्खलामा कवि कवि शिरीष कुमार मौर्यको लामो कविता आत्मकथाको नेपाली अनुवाद प्रस्तुत छ ।

 

आत्‍मकथा

शिरीष कुमार मौर्य

१.

गहिरो कुवाभित्र
व्यथा बोलिरहेँ म

मभित्र एउटा कुवा थियो
र बाहिर एउटा कुवा थियो

गइसकेका थिए सबै जना
मेरो जीवनमा
बल्दै थियो फिलामेन्ट
पुरानो समयको कुनै बल्बको

कोठामा
सुन्दै थियो मलाई मेरै रित्तो कुर्सी
बोल्दै थिएँ म
आफ्ना वेदना

चाहन्थेँ म
जहाँसुकै होस् न्यायको कुर्सी
सुनोस्
मैले भनेका कुरा
आफ्नै खाली कुर्सीसित

२.

मैले प्रतीक्षा गरेँ
ती सन्देशहरूको
जो कहिल्यै लेखिएनन्
मेरो नाममा

चाहन्थेँ- उनीहरू आऊन् मसम्म
जोसँग कुनै इच्छा थिएन
आफैँसम्म पुग्ने समेत

जसले ऐनासम्म हेर्दैनथे
कसरी हेर्थे मेरो मुख ?

एउटा विराट् जमघट थियो
बाटोमा
हरेक गाडीहरू स्थिर थिए आफ्नै स्थानमा
वर्षौंदेखि

सबैथोक छोडेर म आएँ
महादेवी !
मीरा कुटीरसम्म

तिम्रो मेचमा लेखिएको थियो-
महादेवीको टेबुल
त्यहीँ थियो
महादेवीले लेख्ने गरेको खाट
पानी तताउने
एउटा पुरानो उपकरण महादेवीकै नामको
र तिम्रो एउटा तौलिया स्टेन्ड

सबै झस्किन्थे
हेर्थे-
निकै भिड थियो कवितामा
कतै त भेटिँदा हुन्-
महादेवीका सन्तति

वेदना बड्थ्यो
एउटा शूल उठ्थ्यो
सबै खोज्थे कवयित्री
महादेवी जस्ती

के ती आमाको
म कवि जस्तो
छोरा हुन सक्दैनथ्यो ?
जो बस्थ्यो लगभग संसारमा
र लेख्थ्यो लगभग कविताहरू

र हराउँथ्यो देवीधारको वनमा कतै
सदाका लागि ।

३.

मेरा सबै पुकारहरू बिलाए
पुसको चिसो हावामा

उनी केही परसम्म पनि हिँड्न सकिनन्
कुहिरोमा उनको छायाँ
कहिलेकाहीँ मात्र देखिन्थ्यो
सुनिँदैनथ्यो केही

भन्दिनँ म
निकै क्रूर छन् मानिसहरू वा खराब छ समय नै

बोलाउँदाबोलाउँदै बाहिर
भित्र आफैँलाई सम्बोधन गर्न बिर्सेको थिएँ मैले

आफ्नै आवाज आएको थिएन
मसम्म
महिनौँदेखि

आज सुन्छु आफैँलाई

निकै गहिराइमा
मेरा जराहरूको छेउछाउ
आवाज आउँछ
कमिलाहरू हिँडेको
जसले दिनहुँ मलाई
थोरै थोरै
बाहिर ल्याइरहन्छन्
आफैँबाट

र म दिनहुँ
थोरै थोरै खसिरहन्छु
भित्र

त्यसो त
मभित्र होइन
मभन्दा बाहिर कमिलाहरूले ल्याएका
केही कथाहरू छन्
तिनैमा थोरै केही
आत्मा छ मेरो

बाहिर त म रहन्छु
नितान्त सार्वजनिक
र चाहन्छु
सदैव प्रश्नवाचक रहुन् मेरा कविता

जुन वास्तवमा
मेरो एक मात्र नागरिकता हुने छ
प्राणभन्दा प्यारो
मेरो देशमा
पूर्ण रूपमा आफ्नो जगमा खस्नुअघि

खसिसकेपछि
जब कमिलाहरूले घिसार्ने छन् उसलाई
तब हुने छैन
उसलाई आवश्यकता
कुनै प्रमाणको

४.

कवितामा मरेर गए
केही प्रसङ्ग र उसका स्मृति पनि
अब छैनन् जीवित

केवल
निकै ठोस जस्तो एउटा अवरोध थियो-
शिल्पमा
जसले भन्छ- यहाँ केही थियो
अब छैन

एउटा रुखमा
थोरै अड्किएर चुपचाप मरेको
हाँगाको आवाज
केही पछि मात्र सुनिन्छ

एउटा कुकुर गल्लीमा
दिनहुँ देखिन्छ
अचानक कता जान्छ
कसैलाई थाहा हुन्न

एउटा चराको अन्तिम गीत
पातहरू
र हावाको सर्सराहटमा
परिवर्तन हुन्छ

हावाले पनि खान्छ
पिउँछ पानीले पनि
वस्तुहरूलाई
गत वर्ष खेतमा छुटेको खुर्पीको
कङ्काल मात्र भेटिन्छ

जीवन आफ्नो आख्यानमा मात्र
अविनाशी रहन्छ
शरीरमा त्यो मरेर जान्छ

धेरै थोक जो मरेर गए
कहिल्यै फर्केर आउने छैनन् जीवनमा
लामो समयदेखि सोच्छु-
तिम्रो मनमा
कतै त्यो म त होइन

यो
एक्लो कथामा मरेको छ आत्मा
अथवा मरेको छ आत्मामा
सम्पूर्ण कथा

झस्केर हेर्छु-
म छु ।

५.

एउटा ताला हुँ म
बर्सौँ पुरानो खिया लागेको
लुकाइदिएको थियो कसैले
मेरो साँचो
उसैले अब भेटिरहेको छैन त्यो

अरु केही वर्ष
त्यसपछि म
साँचोले पनि खुल्न सक्ने छैन
फुटाउनु पर्ने छ मलाई

घोर निद्रामा छु म
हिर्काऊ कोही मलाई फूलले
या फुक ममाथि
पुरानो हावा
सम्झनाले भरिएको

म भाँचिनु किमार्थ होइन
फलाम भाँचिनु जस्तो
मन भाँचिनु जस्तो हुने छ

प्रेमिकाको घरको बाटो जस्तै
मन पनि
एउटा मिथ्या कल्पना हो

हृदयका लागि जब
कुनै ठाउँ हुने छैन कथामा
तिमीले भेट्ने छ्यौ
आफैले लुकाएको एउटा साँचो

सम्झाउँदै तिमीलाई
मानौँ ताल्चा जस्तै मानिसहरू
विगतका दिनमा थिए

निम्रो निद्रामा
र तिम्रो श्वासप्रश्वासम्ममा
प्रतीक्षा गरिरहे
तिनले
आफूलाई खोलिन्छ कि भनेर

६.

काखमा
काँधमा
ठेलामा
बोकेर केटाकेटीलाई
देश फर्कँदै छ घर

गोरुगाडामा
जुवामुनि एउटा मान्छेले
थापेको छ आफ्नो काँध
गोरुगाडामा
उसकी गर्भवती पत्नी र
एउटा बालक छ

एउटी आमा
थकित भएका कारण
चौपाया जसरी हिँड्दै छिन्
पिठ्युँमा छन् दुई नानीहरू

एउटी छोरी गइरहेकी थिई रुँदै
थकाइ
पीडा
र भोकले
अब मरिसकेकी छे

पीडाले चिच्याउँदै एउटा सिङ्गो युग
आउँदै छ घर

एउटा देश
आफ्ना नागरिकको
हृदयको
बासिन्दा हुन्छ

सोधुन् कसैले
त्यो हृदयमा
पीडा र पश्चात्तापपछि
अब
कति ठाउँ बाँकी छ

विदारक यो दृश्यमा
एउटा कवि
आफ्नो देशको हात समातेर
आफ्नै घर
फर्कन चाहन्छ

उसका पोकापन्तुरामा
गौरवगाथाहरू छैनन्
सिङ्गो उमेरको
एउटा विकट पीडा छ

र जताततै पैदल हिँडिरहेको
देशको
एक विकलता छ
समग्र ।

७.

उनीहरू कुनै परिवर्तनका लागि
आएका हैनन् सडकमा
उनीहरूको यात्रा घरसम्म पुग्ने मात्र हो

हुन त
तीमध्ये कसैका परिवारले त
तिनलाई घरभित्र पस्न पनि दिने छैनन्
यो यात्राको लगत्तै पछि

महामारीको डरले उनीहरू
सिमानामै बस्ने छन्
केही दिन

गाउँका लागि तिनका शुभेच्छाहरू
वास्तवमा
कुनै पश्चात्ताप जस्तो हुने छ

यो क्रान्ति हैन हुँडारहरू !
छोड हाँस्न

यो निकै ठुलो एउटा
विवशता हो
एउटा ऐतिहासिक पीडा

तिमी छैनौ समावेश
तिनको यात्रामा

हरेक रात
तिमी सहभागी भएको ठाउँबाट
यी सिमानाहरूसम्म
एउटा
भयानक आवाज आउँछ
स्यालहरू रोएको

र मेरो निद्रामा एउटा मान्छे
बिस्तारै
थकित भएर ढल्छ
सडकमा

८.

[ दीघोरत्ति (दीर्घरात्रि)]

मेरो रगत
कुनै सानो पहाडी खोलाको स्मृति हो
यसमा
पानी कमै बगोस् निःसन्देह
तर कहिल्यै सुक्दैन

मेरा हड्डीहरू
निकै ठुला कटुसका रूखहरूका सपना हुन्
चिसो र ओसले भरिएका
आज पनि
अदृश्य जस्तो लेउ जमेको हुन्छ मभित्र

सल्लाका पातहरूले भरिएको ठाडो ओरालो छ
मेरो वास्तविकता
जसमा धेरै वर्ष चिप्लिँदै बित्यो
तर
म अझै पुन सकेको छैन
फेदीसम्म

मेरो भविष्य
दुईगुना ज्यालामा प्राप्त मजदुरी हो
महामारीको समयमा
दुख र पश्चात्तापले भरिएको

मलाई मात्रै अब
यस पराजयको उदात्तता लेख्नु छ
र हराउनु छ
आफ्नै सुदूर पहाडी गाउँमा

जहाँबाट
मेरा यी समकालीन रातहरूमा
विकल भएर
चितुवा र भालुहरू कराएका आवाजहरू
मसम्म आउँछन्

र मेरो उदास निद्रामा
झस्केर
भयभीत खस्ने गर्छ
मेरो आफ्नै शरीर

तपाईँ चाहनुहुन्छ भने
यसलाई मेरो आत्मकथा मान्न सक्नुहुन्छ ।

९.

(दीघोरत्ति न मुच्यते)

मलाई थाहा छ
यी सुदीर्घ रातहरूमा टाढा कतै
कसैले बोलाउँछ मलाई

बेआवाज बोलाउँछ घृणा
बेआवाज बोलाउँछ प्रेम वा सायद यसको विपरीत

म परिभाषित गर्दिनँ बोलाउनुलाई

सम्पूर्ण समाजको अवचेतनमा
जसरी बसेको छ मिथक कसैले बोलाउँछ मलाई त्यसरी

मेरो अवचेतनमा
जहाँ छ बोलाइरहेको समाज
त्यहाँ एउटा भिन्नै पुकार
कुनै मिथकका पाउमा लम्पसार पार्न सक्छ मलाई

यसरी बनेको मेरो आत्मा
हुने छ निकै चहकिलो
जताततै लुटिएर फर्केका
मेरा आफन्तको कमाइ जस्तै

हेर
कतै चुनावले नखाइदिओस् उसलाई

महामारी र ज्वरोबाट बचेको मानिस
प्रायः चुनावमा पग्लिन्छ
अनौठो हुन्छ मान्छेको घुलनशीलता

त्यसकारण
यो लोकतन्त्रको मिश्रण हो
सात दशकभन्दा बढी समयदेखि चारैतिर
म यसमा विलीन हुन्नँ
म खोजीमा छु विलय गर्नेको

यस विकट कथामा
विकल यो खोजी स्वयंको हो ।

१०.

मेरा लागि फुल्दै गरेका फूल
झरे भने तिनको उदात्तता
मेरो स्मृतिको अङ्ग हुन्छ

गाउँमा पानीको एकमात्र स्रोत
एउटा मूल थियो त्यसको क्षीणधारले सिकायो
धैर्य जीवनमा
र अरुको तिर्खाको सम्मान गर्न पनि

मेरो बाटो
आफ्नै मानिसहरूले बनाएका
केही गोरेटाहरू
खाडलमा खस्ने त्रासले भरिपूर्ण
तिनीहरूमा कहिल्यै चिप्लिएनन् खुट्टा
तिनीहरू धमनी जस्तै बोकेर
लिई आउँथे मलाई
र शिराहरू जसरी
लिएर जान्थे

म छैन अब
मेरो एउटा कथा मात्र छ त्यहाँ
गुराँसका फूलहरू जस्तै त्यसको पनि
एउटा ऋतु छ

र एउटा अन्तर्कथा
चुत्रोका मसिना रहस्यमय खैरा फलहरू जस्तै
मेरो रगत जस्तै रसले भरिएको

यिनै दिनहरूमा
मानिसहरू सोधिरहेछन् पटक पटक

मेरो आवाज सुनिँदै छ ?
मलाई देख्दै हुनुहुन्छ ?
लाग्छ कोही ढक्ढक्याइरहेछ ढोका लगातार
कसैलाई नसुनी मात्र बोलिरहेछ

भलादमीहरू !
यति हल्ला पनि नगर

म सुनिरहेछु प्रतिध्वनिहरू
फूलहरू झरेका आवाजसमेत आइरहेछन्
मसम्म
तिनै फूलको स्मृतिमा
एउटा चरो एक्लै गाइरहेछ
म हेर्न चाहन्छु त्यसलाई

उसको चुच्चामा च्यापिएको एक्लो साहसी
त्यो गीत मेरो हो
गाउँको पँधेरामा बिर्सेर आएको थिएँ त्यो गीत

सुनेँ
सुकिसक्यो त्यो पँधेरो पनि
केही वर्षअघि

११.

भोकले गरिबीले
रोग-महामारीले
विस्थापन पलायनले मरे मानिसहरू

मानेनन् हार
पिटिँदै र पश्चात्ताप गर्दै
जहिलेसम्म सके बाँचिरहे मानिसहरू

उत्पातमा मरे ठालुहरूले मारे
जातले मार्‍यो रङले मार्‍यो

मरेनन्, मारिए मानिसहरू

मुटु छियाछिया भएर वा सपना पूरा नभएर
आत्महत्या गरेर गयो
मान्छे
यसै गरी लडाइँ गरेर
र निस्सासिएर अनि जलाएर
गाडीहरूले किचेर
तथा अन्य हजारौँ तरहले
मारिएकाहरूबाट
उसले पाउने छ
अब त लाजमर्दो अवस्थामा फर्किआउनका लागि
कुनै संसार पनि बाँकी छैन
उसका लागि

किसान फर्किए भने
सम्याउने छन् बाँकी बचेको पृथ्वी
जोगाएर राखेका बीज

बाँकी रहेका जङ्गलमा
सुकेका दाउरा लिन जाने छन्
दाउरेहरू

नदीहरूमा
स्वर्गबाट बुनेर ल्याएको जाल
हान्ने छन् माझीहरू

आफ्ना बालबच्चालाई
काँधमा बोकेर फेरि हिँड्ने छन्
मेरा आफन्तहरू
यस पटक मृत्युबाट जीवनतिर

मारिएका मानिसहरू हारेका मानिसभन्दा बढी बाँच्ने छन्
जाने छन् धेरै टाढासम्म
धरै पटक आउने छन् फर्केर

देवदूतका झरेका पखेटाहरूले
ती गर्मीका दिनहरूमा पङ्खा हम्कने छन्

हारेकाहरू
विमर्श गर्ने छन्
अहिलेसम्म हार्नुका कारणहरू बारे

आफ्नै ईश्वरको उपस्थितिमा तिनीहरू सायद
फेरि हार्न सक्थे
मात्र जीवन होइन
यस पटक आफ्नो मृत्यु पनि


आफ्नै मृत्यु हार्नु
सबैभन्दा ठुलो त्रास हो संसारमा

ठिक त्यस्तै
जसरी एउटा कथाले हार्छ
कसैको आत्मामा ।

१२.

अरु कसैको कथामा
जस्केलामा बसेर
रोटी र एक गिलास पानी
माग्दै थियो मेरो आत्मा

मैले उसलाई
हात समातेर बाहिर ल्याएको हुँ
त्यो कथाबाट

सुस्केरा हाल्दै
अब ऊ मसँगै हिँड्छ
एक दिन ऊ
पक्कै पुग्ने छ आफ्नो गाउँ
र आफ्नो भग्नावशेष भएको घरलाई
पुनर्स्थापना गर्ने छ

उनले त्यो कथामा जे खायो
त्यो धोखा थियो
जे पियो त्यो अपमान थियो
र अलिकति रिस पनि
अब सायद थाहा छ उसलाई
कुनै अर्कैको कथामा ऊ
निकै ठुलो एउटा सत्ताको हातबाट
मर्दामर्दै बाँचेको थियो

योभन्दा राम्रो त गाउँ पुग्ने प्रयासमा
भोक र पीडाले मर्नु हुन्छ

यसरी जुन दृश्य बन्ने छ आत्मको
त्यसमा हीनता होइन
जीवन र मृत्युका लागि अत्यावश्यक
एउटा सम्मान हुने छ ।

१४.
ढोकामा देवशुनी
साथमा श्याम र शवल

उज्ज्वल
यो स्मृति ऋग्वेदको
यास्कको निरुक्त

र अगाडि
पुराण-महाकाव्यहरूको एक पतित प्रसङ्ग

जताततै उभिएको देख्छु म
चार खुट्टामा
जन जनका अभिन्न मित्र
प्रायः काँतर आवाजमा बोलाइरहेका

छुट्टिएर खसेको सुदूर अतीतमा
यो
मेरै आत्मकथाको
कुनै पाना हो

मारिए सरमाका सन्तान
यज्ञ वेदिका नजिकै
तैपनि सुकेन सरमाको स्तनको दुध
न त रगत
उनका निरपराध सन्तानको

त्यसैले धुन्छु
पाप अतीतका
भविष्यका सबै पराजय
लाज पनि लाग्छ

ठोक्किन्छ जो मसित
हरेक चोटि
यज्ञको धुवाँमा हारेको मनुष्यताकै
दुर्गन्धित सास हो

तब एउटा पशु मुख
मेरो दुखिरहेको जीवनमा
आफ्नो तातो खस्रो जिब्रो हालेर
चाट्छ मलाई

मयलका पत्रहरूमा थिचिएको
यो संसारमा
मलाई
आजसम्म
सरमाका सन्तानले नै पवित्र राखेका छन्

आफ्नो यो रहलपहल आत्मका लागि
म ईश्वरभन्दा बढी ऋणी छु सरमाको

एक प्रागैतिहासिक श्वान परिवारको
आत्मकथामा
धरतीमा खसिरहेका थोपा झैँ थर्थराउँछ
मेरो कथा ।

१४.

हावामा चढेको वर्षाले
बाटोमा हिलो र नातामा उखुम छोडेर गएको छ

आत्मकथाहरूमा
बादल र मनुष्यको समकालीनता
कतै प्रमाणित थिएन

नरम मनतातो गुलाबी चिसोका जालझेल
धेरै थिए

मैले आफ्नो कथाको सबैभन्दा गर्मी यामबाट देखेँ
आफ्नो निकटतम अतीत

चराहरूको चुच्चामा आएका सबै वसन्त
गुँडहरूमा टाँसिए

अब त्यहाँ उडिसकेका बचेराका सुकेका विष्टा
झरेका भुत्लाहरू
र छोडीगएको एउटा दुर्गन्ध मात्र बाँकी छ

महान्‌भन्दा महान् फूलहरूको पनि अब कुनै अभिलाषा छैन
बाँकी छ मात्र स्मृति

यसरी
जेसुकै अब देखिँदै छन्
ती समाजमा चिच्याइरहेको
एक वीरता
र आत्ममा विलीन भइसकेको
एउटा पराजय हो

र जे देखिएको छैन अहिले
खासमा त्यो छ
बाँकी रहेको जीवनका लागि अब बाँच्नुपर्छ मैले
झरीमा
बाटो काट्ने प्रयास जसरी

१५.

प्रशस्ति वाचनको क्रममा
म अचानक कुर्सीबाट हड्बडाएर उठेँ
मलाई कुनै काँडाले घोच्यो

झस्किए नामवर सिंह र विश्वनाथ त्रिपाठी
विष्णु खरेको अनुहारमा मुस्कान थियो
भने बधाइ छ
छेवैबाट चंद्रकान्त देवतालेले
हाँसेर साथ दिए उनलाई

कानमा भने सञ्चालक देवीप्रसाद त्रिपाठीले
धातुले बनेको यो कुर्सीको शिल्पमा
कतै छैन काँडा कसरी घोच्यो तिमीलाई

मैले भनेँ
काँडा सायद कुर्सीको विचारमा समावेश छ

सायद त्यसै विचारको विरोध गर्दै
त्यो सभाकक्षमा
सबैभन्दा अगाडि भुइँमा बसेका थिए मंगलेश डबराल
त्यो साँझ उनकै अनुरोधमा आयोजित थियो

र उनको ठिक पछाडि थिए वीरेन डंगवाल
उनीसँग कुर्सीदेखि लिएर प्रशस्तिसम्ममा लुकेका
सबै काँडाहरूको मर्म थियो तिखो र तातो

पुरस्कार पनि केवल यस्तै एक कथा हो
जीवनमा
या त काँडैकाँडाले छियाछिया भएको कुनै व्यथा
पाए जुन कविहरूले

र पनि कहिल्यै भन्न सकेनन् निःसङ्कोच
निर्भार ।

१६.

यो देश लेख्न चाहन्थ्यो आत्मकथा
र यसका कर्णधारहरू यसलाई श्रुतिलेखन गराउँथे

देश चाहन्थ्यो आत्मको अभिव्यक्ति
मानिसहरू सोध्थे- कुन गाउँका हौ तिमी
तिम्रो भाषामा आञ्चलिकताको प्रभाव निकै छ

बस्तीको सङ्घर्ष नागरिकसित थियो
र जीवनको आभा निर्भर थियो दिनको उज्यालोमा

आत्मकथामा गल्तीका स्थान थियो
विशुद्ध हुनु थियो श्रुतिलेखनमा

यति विशुद्ध त
कुनै समाज पनि हुँदैन
संलग्न रहिरहन्छ
पुरानो अतीतको मयल, र पनि देश
महान् हुने गर्छ

आफ्नै आभामा
जीवनका अशुद्धताहरूलाई एउटा ग्रामीण कवि
भाषा र समाजको एक सानो ज्योति मात्र पनि
यदि भन्न सक्छ भने
त्यसलाई सम्पूर्ण देशको नै

आत्मदशा
अथवा आत्मकथा
म मान्छु ।

१७.

कविहरूको आत्मकथामा
समावेश हुन्छन्
तिनका कविताहरू
विकल चरित्र-अभिनेत्रीहरू जसरी

नायक-नायिकाको
समकालीन एउटा संसारलाई
जोगाउँदा जोगाउँदै
कति बेला बिदा हुन्छन् ती
कसैलाई थाहा हुन्न

उनीहरूको नाम प्रेमिकाहरूको नाममा पर्दैन
तर ती प्रेममा हुन्छन्

तिनका कविहरू पनि
आफै चरित्र-अभिनेता जसरी
बस्छन्
समकालीन एउटा समाजमा

पोस्टरमा देखिँदैनन् कतै
तर हुन्छन् फिल्ममा

दर्शकका उद्धत आत्माहरूमा
ती पटक पटक
सामूहिक पीडाका बिउ रोप्छन् ।

१८.

र फेरि एउटा अन्त्य अनन्त जस्तो

र फेरि अब
म उड्ने छु
मयूरको जस्तो
एउटा उडान
गह्रौँ र सुन्दर

एउटा अग्लो आलीबाट उडेर
झर्ने छु एउटा निर्जन मैदानमा

मानौँ उडेर कुनै कथाबाट
उत्रिनु आत्मकथामा

कसैले सिरानीमा राखेको कविताको किताबमा
थिचिएको
एउटा मयूरको प्वाँख
अब मेरो सम्झना मात्र भए पुग्छ ।
***
अनुवादः निमेष निखिल