सीमा थापा ‘सिमाना’

धमिलियो आकाश चल्यो चिसो बतास
स्पर्श गर्दा मन कस्तो उदास कस्तो हतासिने
लुकाइएको त्यो स्वरूप झट्टै प्रकट भएझैँ
सावधानी गर्दै थियौ पर्यो सङ्कट कसरी जोगिने ?

मुटुको चाल बढ्यो आँसु यो परेली भै झऱ्यो
कोही छैन गरिदिने कोही हुन्न अघि सरिदिने
आँखा तानी ठुला भन्छन् “कठै कस्तो वज्र पऱ्यो”
आपत् पर्छ अब टर्छ नआत्त हामी छौँ त भनिदिने ।।

रमितेको खिचातानी मान्छेपिच्छेको कहानी
कोरोनाको डर कोही छैनन् वास्तवमै नजिकिने
गर्ने भन्दा बोल्ने बढी राखी हत्केलाकै सिरानी
कमै हुन्छन् साँच्चै विकल्पको मार्ग खोजिदिने ।।

आर्थिक होला नहोला सबको कोरोना कहर छ जो
गरिब जन मर्छन् त्यसै छैन कोही बोलिदिने
न औषधिमुलो बलियो मुटु नै औषधि साह्रै ठूलो
मरण पनि कस्तो घाटमा मलामी बेगरै पोलिदिने ।।

खोप छैन लगाएको खोप कार्यक्रम आयो-गयो
आशय साथ खोप सहयोग छ कत्रो भाँडो थापिदिने
हल्लैहल्लाको मेरो देश आफन्त इष्टमित्र सबैको
पालो आयो नेताहरूको खाली फारम कसले भरिदिने ?

दुइटा तीन वटा दिएझैँ समाजसेवीका तस्वीरहरू
बगलमै बेसहारा मर्छ असल हृदय कस्ले सोचिदिने
पापीहरूको पाप जति त्यति नै मन्दिरभरि लर्को
मानवताविहीन समाजमा आफू मरेर को छ बचाइदिने ?।

स्वार्थ अस्वस्थ प्रतिस्पर्धा मतलबी दुनियाँ छ बेरङ्गी
लगानी छ मायाप्रेम त्यसै औँला कसले भाँचिदिने
हरेक कुरामा मोल र तोल छ स्वार्थभित्र गोलैगोल
फुटबलजस्तो जीवनमा छ सरकार डिफेन्डर बनिदिने ।।

अराजकता स्वाधीनताको लडाइँमा सिर्जनाको अभाव
स्वतन्त्र परिवेश चाहने सबै कर्तव्यको लाम कसले लागिदिने
नाम दाम रङ्गीन साम हनुमानेका ताँती बगाल पद रहुन्जेल
बिनास्वार्थ तिम्रा पनि नेताज्यू अघिपछि को छ हिँडिदिने ?।

नेताज्यू सररर मोटरगाडी पुग्दासम्म अनुगमन
खाली खुट्टा गाउँ विकास असारपछि कसले गरिदिने ?
पुल आयो अब त तुइन चढ्ने विद्यार्थीको फेरिएछ दिन
भन्दै गर्दा पुल भाँच्यौ यसको भरपाई कसले गरिदिने ?

महँगीले आकाश छोयो,गरिबी यो यथार्थको चित्रण
मिलिजुली बाँडफाँड नयाँ समीकरण कसले गरिदिने ?
आफ्ना हनुमन्तेलाई अनुदान सर्वेक्षणमा रित्तो फर्म
आफ्नो गलत पराई ठीक वर विचार कसले भनिदिने ?

सङ्कटको घढीमा स्वास्थ्य शिक्षा माफियाको राज
पार्टी र अनेकता कठै बुबुरो जनता कसले कहिदिने ?
सानो मानचित्रमा ठुलो भ्रष्टाचार रातदिन बलात्कार
नैतिक सङ्कट व्यवस्थापनमा कसको नैतिकता खर्चिने ?

काम भन्दा बढी प्रचारप्रसार, लोकप्रिय बन्छन् सबै
फेरि आउने निवार्चन अब कस्ले मासु भात खाइदिने ?
सबका आफ्नै लोगो छन् तिम्रा नामको औँठाछाप
फेरि पेट्रोल र रिचार्ज कार्डमा कस्ले अब लगाइदिने ?

दिन हुन्जेल सबै हेर पर आकाशबाट पुच्छ्रेतारा झरेको
एउटा काम गर नत्र फेरि समानुपातिकमा कसले पारिदिने ?
बडो तिम्रा हाइफाइ सुटेट बुटेट टुक्का उखान भनिरह्यौ
कोही छ बाँकी तिम्रा नाममा खनिखोत्रो नखिनिदिने ?

खबाट खरायो दक्षिणा हरायो भाग्य बाजी लगाएर
हिजोझैँ सेतोलाई कालो फेरिको युगले किन भनिदिने ?
नक्कली राष्ट्रवाद हात्तीको देखाउने दाँतझैँ चम्काएर
पदलुप्त तिम्रा नियति केही छ बाँकी छर्लङ्ग नदेखिने ?

कपन, काठमाडौँ