सुन्दर देखिएकी छिन् बसुधा झनझन,
गाढा नीलो रंगमा रंगिएका छन् गगन ।

बर्सन्छ आकाशबाट नीर घरिघरि,
वृक्षका हाँगामा रमाइरहेछन पंक्षी पनि ।

ओहो ! कहाँ हरायो आज कोलाहल,
कता बिलायो मानिसको बोलाबोल ?

जसले आफ्नै हैकम देखाउँथ्यो सदा,
खै आज लुकेर बसेको छ ऊ कता ?

यही सोचेर दंग भएका छन प्राणी सारा,
उल्लासमा बहिरहेको छ स्वच्छसफा हावा।

हेर ! बाहिर छाएको छ रंगीन वसन्त,
मानिस डराएको छ हुन्छ कि भनी अन्त्य ।

यी धर्ती होइनन मानवकी सम्पति,
सुखी हुन सक्दैनौँ हामी नासेर प्रकृति ।

यही नै सिकाइरहेकी छिन जननी धरा,
बुझेर मनन गर्ने भैसकेको छ अब बेला ।