उठ्नुस् न बा उठ्नुस्
झोलामा मकै–भटमास बोकेर
लिन आएको छु हजुरलाई ।
कफिन तोडेर उठ्नुस् न
आमा र दिदी पनि उभिएका छन् छेवैमा ।

मलाई केही दिनु पर्दैन
हजुरले ल्याइदिन्छु भनेको
चकलेट, पिलपिले घडी र खेलौना
साहूलाई नै फर्कादिउँला ।

मात्र हजुरको गाला मुसार्न पाए पुग्छ
काखमा बसेर हाँस्न पाए पुग्छ
आँगनको डिलमा बसेर
हजुरसँगै गीत गाउन पाए पुग्छ
हजुरकै पछि–पछि लागेर
गैरीखेत जान पाए पुग्छ
हजुरले केही ल्याइदिनु पर्दैन
हजुरको न्यानो माया भए पुग्छ ।

उठ्नुस् न बा उठ्नुस् !
अबदेखि हजुरले भनेको सबै मान्छु–
सधैँ स्कुल जान्छु
दिदीसित कहिल्यै झगडा गर्दिनँ
आमालाई कहिल्यै दुःख दिँदिनँ
हजुरसँग कहिल्यै खेलौना किनी माग्दिनँ ।

उठ्नुस् न बा उठ्नुस् !
बाहिर घाम लागेको छ
सुस्तरी–सुस्तरी बतास चलेको छ
आकाश धुम्म हुँदैछ ।

हजुर नउठ्दा हाम्रो आँसुलाई
मोबाइल र क्यामरामा कैद गरिरहेछन् मान्छेहरू
वरिपरि झुम्मिएर
रमिता हेर्नेहरूको भीड बढ्दै छ
सिठ्ठी बजाएर पुलिसले छिटो हटाऊ भन्दै छ ।

बिन्ती छ–
उठ्नुस् न बा उठ्नुस् !
आमा र दिदी डाँको छाडेर रोइरहेछन्
जुरुक्क उठेर सम्झाइदिनुस् न
अब कहिल्यै विदेश जाँदिनँ भनिदिनुस् न बा !