कविता : परिचय

तिलक शर्मा (असम)

सबैले जानेका छन्

स्थान हराए मान हराउँछ

फेरि जान्दाजान्दै किन

इन्द्रबहादुरले हूलका हूल लखेटेका,

पाहाड-पर्वत र खोलानाला कटाएका ?

जयमायालाई छुट्टाएर एक्लो पारेका ?

किन, अलपत्र पारी लेखापानी छाडेका ?

ती धारावसी पनि कस्ता

पाषाण हृदयका ?

 

विचरा अलपत्रिएकी जयमाया लखेटी

देश कटाइ भुटान परदेश पुर्‍याएका ?

कस्तो निष्ठुरी हृदय अझै रहर नपुगेको,

दिगो हुन् नपाई फेरि लखेटी शरणार्थी बनाएका ?

यता लीलबहादुरको पनि उस्तै पारा छ

किन हरिटट्टु धनेको बसाइँ सराएर बेपत्ता गराएका ?

 

घोत्लिएर विचार गरेँ,

किन यस्तो भयो ?

पाएँ विचार (?)

उनीहरू बाध्य रहेछन् त्यसो गर्न,

यो कुन्नै पटकथा होइन,

सत्यकथा रहेछ,

साँचो कुरामा अमल रही सही इतिहास लेखेछन् ।

 

परमर्मज्ञ हुँदाहुँदै पनि विवश बनेछन्,

किनभने इतिहास बदलिँदैन र

इतिहास मेटिँदैन पनि

असत्य जति प्यारो भए पनि सत्य छोपिँदैन

पाठशालामा पढेको थिएँ

निलो स्याल राजा बनेको,

सत्यको सामु भएर असली स्वरूपमा आएको,

आफ्नो परिचय फेर्नू हुन्न

न फेर्न मिल्छ नाउँ

पुर्खाले राखेका छन् टिपन जताततै गरि सद्नाम

फेर्न सकिन्छ र आमाको नाउँ र बाबुको स्थान ?

यहीँ नै निहित छ हाम्रो परिचय र स्वाभिमान

यहीँ नै निहित छ हाम्रो परिचय र स्वाभिमान ।