मीना पाैडेलका गजल

मीना पौडेल (असम)

गजल १

माछो माछो भ्यागुतो नगर धेरै बदनाम हुनेछ,

दुर्नीति भ्रष्टाचारको कुरा सबै खुलेआम हुनेछ ।

 

कसैको जीवन छिनेर महान् बन्न खोज्ने हजुर,

नसोच्नुहोस् मृत्युदण्ड दिने सबै राम हुनेछ ।

 

संस्कारी भएर मात्र हुँदैन सुन्दर पनि हुनुपर्छ,

अनि बल्ल आज लिलामीमा तिम्राे दाम हुनेछ ।

 

शिक्षित समाजमा बेतनले नअघाउने कर्मी छन्,

घुस त खुवाउनै पर्छ अनि मात्र तिम्रो काम हुनेछ ।

 

रातको चम्किलो जून देखेर घाम न बिर्सनुहोस्,

हामीलाई अक्सिजनको आड त्यही घाम हुनेछ ।

 

गजल २

नेपाली आदिकवि कहलाउने तिमी महान् छौ,

तिम्रो जन्मदिन सबैले मनाउने तिमी महान् छौ ।

 

आफ्ना सबै रचनाहरू मिस्रीजस्तो गुलियो पारेर,

ऐनाजस्तो छर्लङ्ग पारी सजाउने तिमी महान् छौ ।

 

नेपाली भाषा साहित्यको आदिम युगदेखि नै

साहित्यको विकास गराउने तिमी महान् छौ ।

 

घाँसीले इनार खनाउँछ भने म पनि केही गर्छु भन्यौ,

घाँसीको कारण चर्चामा आउने तिमी महान् छौ ।

 

रामायणको सात सात काण्डको अनुवाद गरी,

नेपालीको घर घरमा पुर्‍याउने तिमी महान् छौ ।

 

आफू झ्यालखानामा हुँदाको पीडाहरू पनि त

रचना गरेर गीतको लयमा गाउने तिमी महान् छौ ।

 

मान्छे वर्षाैँअघि मरेर गए पनि कर्मले आजसम्म

साहित्यप्रेमीकाे मनमा छाउने तिमी महान् छौ ।