कविता : जीवनको अर्थ

माधव सुवेदी (असम)

लगातार निरर्थक बनेको जीवनमा

जिन्दगीको अर्थ खोज्दैछु

विसंगतिपूर्ण जीवन लिएर

कसैको व्यङ्ग्यको पात्र बन्दै छु ।

 

हिजो अकस्मात् चिप्लिएर लडेँ

उठेर हिँडेको कसैले देखेन

म लडेको खबर सार्वजनिक भयो

उठेर हिँड्दा पनि गिज्याउन छाडेनन्

लगातार निरर्थक बनेको

जीवनको अर्थ खोज्दै छु

आक्रोशका झिल्काहरूले

डसेको डसै छ मलाई

के थाहा सुन्दर एउटा अनुहारभित्र पनि

आक्रोशको आगो जलेको हुन्छ ।

 

पाइलैप्रति इज्जत छाम्दै हिँडे

श्रम गर्दै आफ्नो बाटोमा

तर पनि औँलो ठड्याउछ जीन्दगीले

घरिघरि धमिलो देख्छु आफ्नो वरिपरि ।

 

आफू बस्ने घुम्तीभित्रै बसी

विसादका पलहरू गनिरहन्छु लगातार

निरर्थक बनेको जीवनमा

जीवनको अर्थ खोज्दै छु ।

 

निर्णय गर्नेहरूलाई स्वागत छ

म चिप्लेको बाटोमा

एक पटक हिँडे हुन्छ

जीवन यात्राको बाटोमा

जीवनको अर्थ खोजे हुन्छ

लगातार निरर्थक बनेको जीवनमा

जीवनको अर्थ खोज्दै छु म

विसंगतिको अर्थ खोज्दै छु ।