साँझ ढलेसँगै
थुनिन्छन् यी नयनका ढोकाहरू
सपनासँगै एक पाइला नसारी
संसार घुमेर आइपुगेछु उही ठाउँमा !
ब्युँझिएँ बिहानी आशाका किरणहरूसँगै
र पाएँ उही ठाउँमा आफूलाई
उठेर हेरेँ झ्यालबाट संसारलाई!
रातभरिमा फलेछन्
टिलपिल मोतीका सुन्दर दानाहरू
कर्कलाको पातभरि !
लागेँ ढाकी बोकेर
मोति टिप्न बारीतिर
टिप्न थालेँ
टप्प
टप्प
हरेक दाना टिप्दा
जोडिए दुवै औँलाहरू !
घाम आउन्जेल टिपिरहेँ मोतीका दानाहरू
तर भरिएन मेरो ढाकी
उही मोतीको सागर बनेछ भुईंमा चारैतिर
टिप्दाटिप्दै चिप्लिएछु
फेरि दोस्रोपटक व्युँझिएँ |
बल्ल थाहा भयो
बिना मिहिनेत
रातारात कहाँ फल्दो रहेछ र मोती !
जीवनमा मोती टिप्नका लागि त
निधारबाट झार्नु पर्ने रहेछ
अनगिन्ती मोतीहरू ।
न्युयोर्क
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला