सागर सिवाकोटी

लामखुट्टे छेक्न
मैले लगाएको झुलबाहिर
जोम्बी बनिसेकका मेरा सपनाहरु
लामबद्ध भएर आएका छन्

तीमध्ये
अनिकालमा परेर मरेका सपनाका जोम्बीहरू
मलाई तर्साउँदै छन्
अङ्गभङ्ग भएर बितेका सपनाका जोम्बीहरू
लामा लामा दाह्रा देखाएर
मलाई गिज्याउँदै छन् ।

कुनै सपना मलाई हकार्दै छन्
कुनै सपना एकटक लगाएर मलाई क्वारक्वार्ती हेर्दैछन्

ती जिल्ल छन्,
ओहो ! म त अझै जिउँदै रहेछु ।

त्यो लामको सबैभन्दा अगाडि
सानैमा
बोल्न नजानेर
भाग्न नजानेर
कुनै रात यस्तै झुलभित्र निसास्सिएर मरेको
मेरो एउटा फुच्चे सपनाको जोम्बी
झुलमा परेको सानो प्वालबाट भित्र छिर्न खोज्दै छ ।

जोम्बी बनेर आएको मेरो त्यो सपनाले
झुलभित्र आउन पायो भने
मलाई के भन्थ्यो होला ?

सानैमा बिलाएको मेरो त्यो सपनाले
फेरि मभित्र आउन पायो भने
उसले मलाई के भन्थ्यो होला ?

मैले पहिलोपटक उसलाई देख्दा
म आफैँ अलमलिएको थिएँ
ऊ हो कि होइन ?
ऊ छ कि छैन ? ?
ऊ बाँचेर हुर्किन पायो भने
मैले उसलाई चिन्छु कि चिन्दिनँ होला ?
उसले मलाई चिन्छ कि चिन्दैन होला ?
एकपटक साँच्चै ठूलो हुन पायो भने
उसले मलाई के भन्थ्यो होला ?

मैले उसलाई क..ख..ग.. सिकाउँदा
ऊ मन लगाएर पढ्थ्यो
तर कहिलेकाहीँ
बसेकै ठाउँमा निदाउँथ्यो
कहिले दिक्क मान्थ्यो
कहिले रिसाउँथ्यो
कहिले मेरो आँखाबाट माछाजस्तै फुत्त फुत्किएर
तुफानजस्तै भाग्थ्यो ।

तर ऊ जति भागे पनि,
म उसलाई दिनभरि लगाएर खोज्थेँ
रातभरि लगाएर खोज्थेँ
र उसलाई फेला पारेपछि
फकाउथेँ
गाली गर्थेँ, कुट्थेँ
मैले मेरो सानो सपनाको ठूला ठूला आँखामा आँशु देखेको छु ।

मैले मेरो सानो सपनाको ठूला ठूला आँखामा
टिलपिल सपनाहरु देखेको छु ।

म जिल्ल पर्थेँ
ओहो
सपनाले पनि देख्दो रै’छ
सपनाले पनि सपना देख्दो रै’छ
मेरो सानो सपनाको
ठूला ठूला आँखामा सजिएका सपनाहरू
पूरा हुन पाएको भए,
उसले मलाई के भन्थ्यो होला ?

ऊ जति जति ठूलो हुन्थ्यो
ऊ जति जति बलियो हुन्थ्यो
ऊ जति जति प्रष्ट बोल्थ्यो
म त्यति नै खुशी हुनु पर्थ्यो
दङ्ग परेर उसलाई स्याबासी दिनु पर्थ्यो
तर
म डराउथेँ
ऊ हुनुपर्ने जति ठूलो भएन भने ?
ऊ हुनुपर्ने जति अग्लो भएन भने ?
ऊ हुनुपर्ने जति प्रष्ट भएन भने ?
म आफैँ अलमलिएको थिएँ ।

ऊ सानो हो कि ठूलो हो
ऊ खहरे हो कि खोलो हो ?
ऊ हो कि होइन ?
ऊ छ कि छैन ?
ऊ साँच्चै थियो भन्ने मैले थाहा पाएको भए
उसले मलाई के भन्थ्यो होला ?

एक रात ऊ निदाएको बेला
शायद उसलाई जोगाउन होला
शायद आफैँलाई जोगाउन होला
मैले उसको वरिपरि एउटा झुल बेरिँदिएँ
लामखुट्टे छेक्न भनेर ।

कैयौँ रातको निदपछि
बिउँझिएर उठ्न खोज्दा ऊ झुलभित्र बेरिएको थियो
उसलाई टोक्न आएका सबै लामखुट्टे
झुलबाहिर कुँजिएका थिए
र अलि अलि पलाउन लागेका
उसका पखेँटाहरू
झुलभित्र कुँजिएका थिए ।

अब ऊ मेरो आँखाबाट माछाजस्तै फुत्त फुत्किएर
तुफानजस्तै भाग्न नसक्ने भएको थियो
मैले सिकाएका क..ख..ग.. जोडेर
‘बचाऊ’ भन्दै बोल्न नसक्ने भएको थियो ।

बोल्न नजानेर
भाग्न नजानेर
कुनै रात यस्तै झुलभित्र निसास्सिएर मरेको
मेरो त्यो फुच्चो सपनाले
त्यो रात बोल्न सकेको भए
उसले मलाई के भन्थ्यो होला ?

आज मेरा सपनाका जोम्बीहरू
एकटक लागाएर मलाई क्वारक्वार्ती हेर्दैछन्
किनकि ती जिल्ल छन्
ओहो ! म त अझै जिउँदै रहेछु
मरेको मेरा सपना हुन् कि
म हुँ ?

म आज जिउँदै भएको भए
मेरो सानो सपनाले मलाई के भन्थ्यो होला ?