कवि सन्तोष एलेक्सको परिचय :

कवि तथा अनुवादक सन्तोष अलेक्सको जन्म ०६ जनवरी १९७१ मा तिरुवल्ला, केरल, भारतमा भएको हो । केदारनाथ सिंह और के० सचिदानंदन की कविताओं में मानववाद : एक तुलनात्मक अध्ययन विषयमा पीएच डी० गरेका अलेक्स कवि तथा बहुभाषिक अनुवादक हुन् । उनका ४७ पुस्तकहरू प्रकाशित छन् जसमा कविता, अनुवाद र आलोचना समावेश छन् ।

सन्तोषका कविताको अनुवाद भारतीय र विदेशी भाषाहरूमा प्रकाशित भएका छन् । मलयालम र हिन्दीमा मौलिक कविता सङ्ग्रह प्रकाशित छन् भने अङ्ग्रेजीमा एक कविता सङ्ग्रह अनुवाद गरिएको छ । हालसालै प्रकाशित उनको लामो कविता, पिता मेरे चर्चामा छ । उनको आलोचना पुस्तक, अनुवाद: प्रक्रिया र व्यावहारिकता, भारतका तीन विश्वविद्यालयहरूको अनुवाद अध्ययनको पाठ्यक्रममा समावेश छ । उनलाई विभिन्न साहित्यिक महोत्सवहरूमा भारत र विदेशमा धेरै चोटि आमन्त्रित गरिएको छ । उनी पाँच भाषाहरू बोल्छन् र २८ वर्षदेखि यी भाषाहरूमा अनुवाद गर्दै छन् ।

अहिलेसम्म १२ भाषाहरूका १६० लेखकहरूलाई अनुवादका माध्यमबाट साहित्यिक संसारमा परिचित गराएका छन् । भारतीय अनुवाद परिषद्को द्विवागीश पुरस्कार (२००८), पंडित नारायण देव पुरस्कार, पहिलो श्रीजन लोक कविता पुरस्कार, साहित्य रत्न पुरस्कार, इटालीबाट विट्रसो अन्तर्राष्ट्रिय कविता पुरस्कार, पीसी जोशी शब्द साधक अनुवाद पुरस्कार आदि पुरस्कार प्राप्त गरेका अलेक्स सामान्य विषयलाई लिएर गम्भीर कविता लेख्ने कवि हुन् । भाषिक सरलताका कवि संतोष कोचिनमा केन्द्रीय सरकारको कार्यालयमा हिन्दी अधिकारीका रूपमा कार्यरत छन् । भाषान्तर कविताको ४९ औँ शृङ्खलामा कवि संतोष अलेकसका डेढ दर्जन कविताको नेपाली अनुवाद प्रस्तुत गरिएको छ । कवि संतोषलाई drsantoshalex@gmail.com. मा सम्पर्क गर्न सकिन्छ ।


१. माटो

(मिट्टी)
सन्तोष अलेक्स

गाउँबाट सहर पुग्दा
फेरिन्छ माटो
सहरको माटो
सीमित छ गमलाहरूमा
गाउँको माटो टाँसिन्छ-
मेरा हातगोडाहरूमा

माटो पखाले पनि
रहिरहन्छ त्यसको मट्याइलो सुगन्ध
माटो सास हो मेरो
ऊर्जा हो
र हो मेरो पहिचान

पाइतालामुनिको मटोलाई
बर्सौँदेखि
जोगाइराखेको छु मैले
न कुनै जात जात छ माटोको न धर्म
म, तिमी
ऊ, उनीहरू
जोसुकै लडे पनि
सम्हाल्छ माटोले
जसरी सम्हाल्छिन् आमाले आफ्ना सन्तानलाई ।


२. कविता

सन्तोष अलेक्स

भनिँदै छ- समाप्त हुँदै छ कविता
तर म जताततै देख्छु कविता
आमाका आँखामा
बुबाका सोचमा
भाइको व्याकुलतामा
बहिनीको हाँसोमा

जेलाई छुन्छु
हेर्छु
अनुभव गर्छु
ती हरेक चिज कविता हुन्

झरनाहरू झरेर
नदीहरू समुद्रमा समाहित भएर
बिहानीको आकाश
साँझ फर्किरहेका चराहरूले
कविताकै रचना गर्छन्

किसानले बिउ रोप्नु
उसको शरीरमा पसिनाका थोपाहरू चम्किनु
कविता हो
कविता हो-
सम्पूर्ण जीवन
सम्पूर्ण धरती नै कविता हो ।


३. प्रगति

सन्तोष अलेक्स

रहेन अब
उसको घरको छानो छुने रुख
स्कुलतिर जाने गोरेटोले
विस्तार पायो
खेतहरूका ठाउँमा
समथर मैदान छन्
– ‘साइट फर सेल’
घुँडामा मलहम जसरी लगाइने पातहरू
र जडीबुटी
किताबहरूमा सीमित भए
पँधेराका भग्न सिँढीहरू
अब प्रतीक्षा गर्दैनन् कसैलाई
सिँढीमा बसेर ऊ मुस्कुरायो
उसको मुस्कानमा टाढासम्म फैलिएको सुकेको नदी थियो ।


४. मेरो गाउँ

(मेरा गांव)
संतोष अलेक्स

बर्सौँपछि गाउँ पुगेर आएँ
एउटा अचम्मको ऊर्जा हुन्थ्यो
गाउँबाट फर्कँदा
तर यसपालि…

मेरो गाउँको चिया पसल
रङ्गिन भएको छ
लेज, चिटोस र चिजबलले
अब काका चिया होइन
रिचार्ज कार्ड बेच्छन्

मेरी गाउँका लोकगायक
अब छैनन् गाउँमा
उनी पिसिँदै छन् सहरमा
विवश छन् मालिकहरूको इच्छाअनुसार गाउन
जहिलेदेखि आएका हुन् सहरमा

कसलाई थाहा छैन
मेरो गाउँको नदीका बारेमा !
नदी थियो र त बस्यो बस्ती
वर्षामा किनारा भत्काएर बग्ने नदी
आज
बाटोमा पोखिएको दुध जस्तो भएको छ

मेरो गाउँ राति
रानीफूलको सुगन्धमा डुब्थ्यो
आँगन थिए घर घरमा, तुलसीका मठ थिए
त्यसमा निहुरिएका नीमका रुख थिए
अब न फूल छन् न आँगन भएका घर

कुमालेको चक्रतिर जाने
मेरो गाउँको गोरेटो
कच्ची सडकमा परिणत भएको छ
चुपचाप छन्- बाख्राहरू, गाई
दुध चोर्ने बिरालो
र कुकुरहरू

मेरो गाउँबाट
लखेटिएका छन्-
बर, बबुल र बाँस
अब त आँप, इमली
काँक्रा, फर्सी
खरबुजा सबै
आउँछन् सहरबाटै

रोइरहेछन् मेरो गाउँका खेतहरू
खुम्चिरहेछ तिनको सिमाना
अन्न बाली झुलेका दिन
अब केवल बनेका छन् सम्झना

मेरो गाउँका
नीम वैद्य र मिठाइ पसलेलाई
निलिसकेको छ सपर मार्केटले
अब सबै कतै प्लास्टिकका बोतल
क्यारी ब्याग…

मेरो गाउँ
अब न पूर्ण सहर छ
न पूर्ण गाउँ ।


५. वृद्धाश्रम

सन्तोष अलेक्स

बिहान बेलुका
बजर्जस्ती प्रार्थना गर्नुपर्छ यहाँ
सानो वृद्धाश्रममा
आफैँ काम गर्नुपर्छ
ठुलामा पोसाक लगाएका सहयोगी हुन्छन्

जन्मदिन मनाउन आएका परिवारहरूमा
छोरा र बुहारी खोजिरहेका वृद्धवृद्धाका
मस्कुराइरहेका अनुहारमा लुकेका उदासीलाई
खिच्न सक्दैनन् कुनै क्यामराले

खाँदै खुवाउँदै
समय बिताएर, फोटो खिचाएर
जान्छन् पाहुनाहरू

भोलिपल्ट
ईश्वरको प्रशंसामा
काँपिरहेको आवाजमा प्रार्थना गरेर
आआफ्ना प्लेट बोकेर लाइनमा उभिएका छन् यी वृद्ध

खाजा खाएपछि
फेरि त्यही उदासी त्यही छटपटी
हलको शून्यतालाई
चिर्छ कसैको खोकी, कसैको रोदनले ।


६. कवि

सन्तोष अलेक्स

कलम छ उसको हातमा
त्यसबाट उडिरहेका छन् परेवाहरू आकाशतिर
कलमले चिन्छ कविलाई

तरबार जसरी तयार पार्छ ऊ कलमलाई
बजार, समय
इतिहास, जात, धर्म
पीडा, अनुभूति
सत्ता, जनता
सबैलाई ध्यानमा राख्दै
पूरा तयारीका साथ उत्रिन्छ ऊ युद्धमा

अनाथ हुँदै गरेको राइटिङ टेबलमा
चुहुन्छ कविको रगत
र जन्मिन्छ कविताको अन्तिम पङ्क्ति… ।


७. रोटी

सन्तोष अलेक्स

कसलाई चाहिन्न रोटी !
इतिहास साक्षी छ
यसैका लागि धरतीमा
के मात्रै भएन !

घरका सबैलाई खुवाएर रोटी
आफू भोकै भए पनि
तृप्त थिई ऊ
‘जिरो फिगर’ बनाउने प्यासमा
आज ऊ
चुनौती दिन्छे रोटीलाई नै

सुदूर गाउँमा बुढी आमा
एक हातले जाँतो घुमाउँछिन्
र अर्को हातले हाल्छिन् ओइरो
त्यही पिठोले बनेका दुई रोटीले
मेट्नु छ भोक उनले

साँझ हाँस्दै रमाउँदै
औँला समातेर होटल पुगेकी
नाबालिग केटीलाई
बिहानै तिनीहरू नै
काँधमा बोकेर लैजाँदै छन्
रोटीका लागि… ।


८. बन्नु छैन मलाई

(नहीं बनना मुझे)
सन्तोष अलेक्स

नदी बन्नु छैन मलाई
बन्न चाहन्छु समुद्र
किनकि त्यो होचो ठाउँमा रहन्छ
उर्लेर बग्ने नदीहरूले
बाटो बनाउँछन् ऊतिरै

पात बन्नु छैन मलाई
बन्न चाहन्छु फूल
यो आकाश जस्तै
मुक्त र विशाल
जो फुल्छन्
र चुँडिन्छन्
अरुका लागि

बन्नु छैन मलाई आँधी
हावा बन्न चाहन्छु
किनकि शान्ति प्रदान गर्छ यसले
समस्त चराचरलाई स्पर्श गरेर

मलाई बन्नु छैन मान्छे
संवेदनाशून्य यो समयमा
मनुष्य बन्न चाहन्छु
र चाहन्छु- बचिरहोस् परम्परा र इतिहास ।


९. मेरा लागि कविता

(कविता मेरे लिए)
सन्तोष अलेक्स

लेख्दैनन् कविता
मेरा बाआमा
न मेरा भाइबहिनी
हजुरबा थिए स्कुलका हेडमास्टर
थुप्रै छन् पुस्तकहरू
उनका निजी पुस्तकालयमा

स्कुलको बिदामा
म प्रायः भेटेर आउँथेँ हजुरबालाई
नागार्जुन, केदारनाथ अग्रवाल
धूमिल, केदारनाथ सिंह, विनोद कुमार
विष्णु खरेसित परिचय भयो त्यहीँ

गर्मीको बिदामा
लेखेँ पहिलो कविता
छापियो त्यो स्कुल म्यागजिनमा
कलेज पढ्दा लेखेका कविता
सुरक्षित छन् डायरीमा

पाणिग्रहणपछि
मेरा कविताको पहिलो पाठक
प्रायः पत्नी हुन्थिन्
कहिले भन्थिन् ठिक छ
कहिले दिन्थिन् सच्याउने सुझाव

कविता मेरा लागि
गहना र महँगा बुट्टेदार साडीमा सजिएका
सहरका बुहारी होइनन्
मेरा लागि कविता
ग्रामीण बुहारी हुन्
निष्कलङ्क, सौम्य र सुन्दर ।


१०. लाचार

सन्तोष अलेक्स

उसले हाड घोटेर मेहनत गर्‍यो यस पटक पनि
सबै थोक ठिकै थियो
एकाएक परेको पानीले
बिगार पार्‍यो अन्नबालीमा

खेतको आलीबाट अचानक उठ्यो ऊ
गम्छाले पुछ्यो पसिना
र गयो नदी किनारतिर

किनारमा
घोप्टो परेर बालुवामा
दुवै हातले
अँगालो हाल्यो माटोलाई
र रोयो
दिक्पालहरू पनि थर्थर कामे
उसको रोदन सुनेर

भोलिपल्ट बिहान
खेल्न आएका केटाकेटीले
त्यहाँ एउटा खाल्टो देखे
र देखे एउटा गम्छा ।


११. दाम्पत्य

सन्तोष अलेक्स

कोटि कोटि देवीदेवतालाई साक्षी राखेर
हामीले वाचा गरेका थियौँ-
छोडने छैनौँ साथ जीवनभरि
अब त हामी छुट्टिएको जुग बितिसकेको छ
के तपाईँले कतै देख्नुभएको छ-
ती देवीदेवतालाई ?
जो विवाहका बेला थिए हामीसँगै !


१२. पहाड

सन्तोष अलेक्स

बसमा चढेका
पर्यटकसँगै व्यास नदी
कहिले बग्छ दायाँतिरबाट
र कहिले बायाँतिरबाट
बस र नदीको साँठगाँठको साक्षी
पहाडहरू मात्र छन्
र पहाडहरू छन् उत्तराखण्डमा
पन्डोहमा
विशाखापट्टनममा पनि

पहाडहरूले जोगाएर राखेका छन्
विशाखापट्टनम सहरलाई
आँधी र लुबाट
शान्त छन् पहाड पन्डोहमा
किनकि यिनको शरीर काटिने गरेको छ
बाटो बन्द गरेर
र प्रतिरोध गर्छन् यिनीहरू
उदास छु म
म साँच्चै उदास छु मेरा मित्रहरू
र पनि
खुसी छु यस कारण-
पहाडहरूमा चट्टानका बिच
उम्रिन्छन् बिरुवा अझै पनि ।


१३. गोरेटाहरू

(पगडंडियां)
सन्तोष अलेक्स

पाँच कक्षामा पढ्ने मेरो छोरो
पढ्दै थियो गाउँ शीर्षकको पाठ
अचानक सोध्यो उसले
बाबा ! गोरेटो भनेको के हो ?

मलाई सम्झना भयो गाउँको
त्यहाँ गोरेटाभन्दा पर
कतै साँघुरो ढुङ्गे सतह थियो
कतै थियो घना जङ्गल

गोरेटाहरूमा
जनावरहरूका तिखा खुरका छापहरू देखिन्थे
ढुङ्गे सतह हुँदै फर्किएँ घर कैयौँ पटक
घना वनमा जान डराउँथेँ म

अब न गोरेटाहरू छन्
न ढुङ्गे सतह
घना वन त आश्चर्य हो

विगतका गोरेटाहरू हुँदै
बन्थे नयाँ गोरेटाहरू
कसरी बुझाऊँ छोरालाई
गोरेटाहरू साक्षी हुन्
गाउँ हुनुका ।


१४. तिमी

(तुम)
सन्तोष अलेक्स

तिम्रो अनुपस्थितिमा
हरेक कुरा रहस्यमय लाग्दै छन्
तिम्रो घरतिर जाने
लमो साँघुरो गल्ली
दुवैतिरका पक्की घरहरू
खाली चौतारा
बन्द झ्यालहरू
उदास छानाहरू

तिमी उभिन्थ्यौ
लजाउँदै छतमा
म तल पर्खिन्थेँ तिमीलाई
गफिन्थ्यौँ हामी
बिजुलीको मधुरो उज्यालोमा तिमी
अघिपछिभन्दा निकै सुन्दर देखिन्थ्यौ

गल्ली, घरहरू
चौतारा, झ्यालहरू, छत
सबै आफ्नै ठाउँमा छन्
कमी छ त मात्र तिम्रो
पानी पर्दै छ
पर्खाल र झ्यालहरूलाई
स्पर्श गर्दै छन् पानीका थोपाहरू

म प्रतीक्षामा छु
आज पनि
तिमी आउनू
साँझ पर्नुभन्दा अगाडि नै ।


१५. खडेरी

(सूखा)
सन्तोष अलेक्स

हँसिया, सरौता र खुर्पीहरूमा
खिया लागिसकेको छ
थकित भएर घर फर्किरहेका हल गोरु
छैनन् अब
भत्किसकेका छन् खेतका सुख्खा आलीहरू
क्यारीहरू सुकेका छन्
ओइलाउँदै छन् फूल
शान्त छन् पिपलका पातहरू
नुन, तेल र दाउराका लागि
गएका पुरुषहरू
फर्केका छन् पुरिया लिएर
जहाँबाट चिहाउँदै थिए बलसाकू* ।

*अन्ध्र प्रदेशको सुख्खा क्षेत्रमा उम्रिने पातहरू जसलाई अनिकालका बेला खाएर भोक मेट्ने गरिन्छ ।


१६. अखबार

सन्तोष अलेक्स

एकाबिहानै यो
निद्राबाट ब्युँझिनसकेको सहरमाथि
तन्ना जसरी खस्ने गर्छ
नसा खुम्च्याउने समाचारहरू
व्याकुल बनाउँछन्
समाप्त हुन्छ सारा ऊर्जा

पट्याएर राख्दा देख्छु
मन्दिरको तलाउमा
सपनाहरूलाई चुम्दै पल्टेकी
छिमेकी केटीका आँखाहरू
एकटक हेर्छन् मलाई
म मौन रहन्छु

यो मौन यात्रा हो
सडेगलेको हिजोको ।


१७. हठ

(जिद)
सन्तोष अलेक्स

कहिलेकाहीँ लाग्छ-
जीवन खेल हो सर्प र सिँढीको
कसैले सिँढी भेट्छ पहिले
कसैले सामना गर्नुपर्छ सर्पको

निल्नका लागि तयार छ सर्प
स्वागत गर्छन् सिँढीहरू
पासाले निर्णय गर्छ सम्पूर्ण खेल

यो जरुरी छैन- पहिले सिँढी चढ्ने नै
चाँडै पुग्छ अगाडि
सर्पले खाइदियो भने
चाँडै तल झर्न पनि सक्छ

एउटा ऊ छ जो अगाडि बढ्छ
उसलाई न सर्पको डर छ
न त सिँढीको मोह
ऊ चाहन्छ
आफ्नो भागको आकाश
धरती, पानी
बाँचिरहने हठ छ उसमा
यो जटिल समयमा ।


१८. आमा (तीन)

(माँ- तीन)

सन्तोष अलेक्स

असारको महिना थियो
सिमसिमे पानी पर्दै थियो
साँझमा
धिपधिपे बत्तीको उज्यालोको छेउमा बसेर
उनी पाठ गर्दै थिइन् रामायण

हजुरबा, हजुरआमा
मामा, माइजू
सबै बसेका थिए प्रार्थनामा

हामी केटाकेटी ध्यानपूर्वक सुन्थ्यौँ उनलाई
लयबद्ध पाठ गरेर
श्लोकको अर्थ लगाउँदै गर्दा
देवी जस्तै देखिन्थिन् उनी
पाठ गरिसकेपछि
जतनले थन्क्याएर रामायण तखतामा
भान्सातिर जान्थिन् उनी
र हामी केटाकेटी खेल्नतिर लाग्थ्यौँ

हेर्दाहेर्दै फेरि
आयो असारको महिना
बर्सौँपछि म सपरिवार पुगेँ गाउँ
साँझको बेला छ
बलिरहेछ दियो
तखतामा रामायण पनि छ धुलोले छोपिएको
कमी छ त मात्र… ।
