रवि सुवेदी

खोलामा बग्दै आएको एउटा सग्लो
कागज टिपेँ
देखेँ केही बाढी झैं बगेका अक्षरहरू……
जेनतेन पढ्ने कोसिस गरें
र त्यो भित्रको भाव साक्षात्कार गर्न जुटिरहें
त्यसभित्र समग्रमा यस्तो अभिव्यनञ्जना थियो……

ए धर्म धर्ममा विभेद देखेर काटमार गर्न तयारपर्ने विकान्ध आँखाहरू
आज म तिमीहरूलाई फुटाइदिन्छु……
र सुरदास हुन्छु!

अनि
अन्धकारमा चुर्लुप्म भएपछि
तिमीहरूले शैव र वैष्णवका बिचमा
अग्ला पर्खाल खडा गर्न थाल्छौ,
तिमीहरूले गाणपत्य र शाक्त सौरको
दूरी बढाउन थाल्छौ,
तिमीहरूले सनातन र नयाँपनमा भेद खडा गर्न थाल्छौ,
मान्छे-मान्छेका बिचको दूरी अझै बढाउन थाल्छौ,

तब
ठाडो र तेर्सो टीकाका झगडाहरू मौलाउन थाल्छन्,
रुद्राक्षमाला र तुलसीका-कण्ठि कुस्ती खेल्न थाल्छन्,
पन्ना र बोधीसत्त्वको विचको खाडल गहिरिँदै जान्छ
धत्
त्यस्तो पनि हुन्छ?
सबै एकैधागामा पो उनिनु पर्छ त!

तब
गेरु र पिताम्बरको रस्साकस्सि हुँदैन,
धोती र बुर्का बीच ठेलम ठेल हुँदैन,
सम्झ त
सुर्य र चन्द्रले पनि क्रस र बुर्काबाट यात्रा सुरु गरेर
गेरु भित्र विश्राम गर्न पुग्छन्,
के तिमीलाई त्यस्तै सप्तरङ्गी हुने मन छैन…………

शिव, कृष्ण, बुद्ध, इशु अल्लाह र जरस्थुमा
विद्वेष छैन भने तिमीले कहाँबाट छरेउ त
घृणाको बीज
शिव र कृष्णका नाममा
के आफैंबाट
के तिमी आजसम्म पनि घृणाको खेतीमा
गरिरहेका छौ …………

धत्
त्यस्तो पनि कसैले लेख्छन्?
यस्तो पनि कसैले सुनाउँछन्?
यस्तो लेख्नेलाई बौलाहा भन्छन्
यस्तो सुनाउनेलाई पागल
बस् मलाई यस्तो हुनु छैन!

यो सन्देश छर्दाछर्दै हावाको झोक्काले त्यो
कागजको टुक्रा उडाएर फेरि खोलामै बगाइदियो
म स्तब्ध भएँ के भन्न खोजीएको थियो
आजसम्म पनि त्यसको रहस्य खोज्न
मेरो मस्तिष्क मलाई घच्घच्याई रहन्छ!!