त्यो देश थियो
सगरमाथा शिर भएको
कतै तराई अनि कतै भिर भएको
बुद्ध र सीताले टेकेको
मैले हिजो राति सपनीमा देखेको

साहित्यमा थिए
लेखनाथ, भानुभक्त, मोतिराम
र त्यस्तै केही अरु
सबै तल्लिन थिए
आफ्ना सिर्जनामार्फत्
देश देशान्तरमा
राष्ट्रको गौरव र सौरभको गाथा फिँजाउन

गीत संगीतमा थिए
नारायण गोपाल, अरुणा लामा, अरुण थापा
र, त्यस्तै केही अरु
नेपाली माटो र बाटो बोल्ने
उनका ती गीत संगीतहरु
मानौँ अनवरत सुनिरहूँजस्तो

राजनीतिमा थिए
बिपी, गणेशमान, पुष्पलाल, मदन
र, त्यस्तै केही अरु
देशको उन्नतिका लागि
निःस्वार्थ जनताहरु जगाइरहेका

चार सहिदहरू थिए
दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ
अँधेरी रात फालेर देशमा बिहानी ल्याउन
हाँसीहाँसी ज्यानको आहुति दिन मञ्जुर
नेपाल आमाका ती निडर छोराहरुलाई
मैले ब्युँझिदासम्म पनि सलाम गरिरहेको थिए ।