राजधानीमा
एउटा “जादुई सिंहासन” छ
त्यो सिंहासनमा बस्ना साथ
इन्द्रियका सबै द्वारहरु बन्द हुन्छन्
कानले (गरिबको) चित्कार सुन्दैन
आँखाले (गरिबको) दुःख देख्दैन
हृदयले संवेदना महसुस गर्दैन
…र अन्तमा
जो सिंहासनमा बस्छ
ऊ जीवबाट अजीव बन्छ ।
जब कुनै धुर्त स्याल
त्यो कुर्चीमा आई बस्छ
आफूलाई जंगलको राजा “सिंह” ठान्छ
…र
हामीलाई हेर्दै हुँकार गर्छ
आफू स्याल हुँ भन्ने नै बिर्सन्छ
जब दक्षिणको मालिकले पुच्कार्छ
मालिकको आदेश मान्दै
तलुवा चाटी सफाचट् पार्छ
अनि…
मालिकलाई हेरिकन
कृतज्ञता प्रकट गर्दै पुच्छर हल्लाउँछ
…र
हामी पट्टि हेरेर मातेको साँढे झैं डुक्रन्छ
गल्ती हाम्रो हो
स्याललाई सिंहासन पुर्याउने हामी नै हौं
आदिम कालदेखि नै
हाम्रो बुद्धिमा बिर्को लागेको छ
हामी खोल्न सक्छौं
तर खोल्दैनौं
किनकि हामी मुर्ख हौं
मुढ् हौं
मृतप्रायः हौं
सिंहासनको हकदार
एउटा सिंह
जो यो जंगल हाँक्न सक्छ
उस्ले स्वस्मृति गुमाइसक्यो
रामायणको हनुमान झैं
आफ्नो क्षमता बिर्सिसक्यो
तर अफशोच
यहाँ कुनै जाम्बोवान् छैन जो
हनुमानलाई सूर्य खान सक्ने क्षमता सम्झाओस्
यहाँ जाम्बोवानले समेत स्वस्मृति गुमाइसक्यो !
…र एउटा संभावित सिंह
लुते कुक्कुर झैं
टाङमुनि पुच्छर लुकाउँदै
कतै पलायन हुन्छ
र मृतप्रायः जीवन जिउँछ
जब देश दुख्छ
ऊ सामाजिक सञ्जालमा फगत डुक्रन्छ
यता मातृभूमिमा
बाघको छालामा स्यालको रजाइँ हुन्छ
धूर्त स्यालहरु सिंहको खोल ओढी
सिंहासनमा नाचिरहन्छ
यसरी नै क्रमशः युगौंयुग बित्छ
वर्तमान – मध्ययुग हो
एउटा लाचार धुर्त स्याल सिंहासनमा कुर्लिंदैछ
हामी आत्मा बेचिकन
हाइबर्नेसनमा मृतप्रायः भै निदाइरहेका छौं !
डेथभ्याली



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

